सोलुखुम्बु / कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले सोलुखुम्बुको सोलु जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद केन्द्रको अनुगमन गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, सहज र बिरामीमैत्री बनाउन निर्देशन दिएका छन्।

अनुगमनका क्रममा मन्त्री लिम्बुले स्वास्थ्य सेवा सुधार केवल प्रक्रिया वा कागजी व्यवस्थापनको विषय नभई बिरामीको अनुभव, विश्वास र सेवाप्रतिको भरोसासँग जोडिएको विषय भएको बताए। उनले अस्पतालमा आउने सेवाग्राहीले अनावश्यक झन्झट र अन्योल नभोग्ने वातावरण बनाउन, न्यूनतम सेवा मापदण्ड कार्यान्वयन गर्न तथा उपलब्ध जनशक्ति, औषधि र उपकरणको समुचित व्यवस्थापन गर्न जोड दिए।
उनले आपतकालीन सेवा प्रभावकारी बनाउन, सेवा व्यवहारमा संवेदनशीलता र सहानुभूति देखाउन तथा प्रविधिको प्रयोगमार्फत सेवा छिटो, सरल र पारदर्शी बनाउन पनि निर्देशन दिए। साथै कमजोरीलाई दोष खोज्ने आधार नभई सुधारको अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै निरन्तर सुधारको अभ्यास गर्न आग्रह गरे।
मन्त्री लिम्बुले साना योजना, समन्वय र सकारात्मक सोचका साथ अघि बढे गुणस्तरीय र विश्वासिलो स्वास्थ्य सेवा सुनिश्चित गर्न सकिने विश्वास व्यक्त गरे।