पथरी / सामुदायिक वन उपभोक्ता समूहहरूले नगरपालिकालाई बुझाउनुपर्ने करका विषयमा देखिएको अन्योल र विवाद समाधान गर्न सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) पथरीशनिश्चरे नगर महासंघले नगरपालिकासँग आग्रह गरेको छ।

फेकोफन नगर महासंघले पथरीशनिश्चरे नगरप्रमुख मोहन तुम्वापोलाई बुझाएको ध्यानाकर्षण पत्रमार्फत सामुदायिक वन उपभोक्ता समूहहरू अहिले कर भुक्तानी, वन पैदावार बिक्री, आम्दानीको लेखाजोखा तथा पर्यापर्यटनसँग सम्बन्धित शुल्क व्यवस्थापनमा समस्या भोगिरहेको जनाएको हो।
महासंघले हाल कायम रहेको कानुनी व्यवस्था, स्थानीय सरकार सञ्चालन ऐन तथा वनसम्बन्धी नियमअनुसार स्पष्ट नीति बनाएर समूहहरूलाई सहजीकरण गर्न माग गरेको छ। वन पैदावार बिक्रीबाट हुने आम्दानी, कर निर्धारण, फोहोर व्यवस्थापन र पर्यापर्यटन क्षेत्रबाट उठ्ने शुल्कबारे पनि स्पष्ट कार्यविधि आवश्यक रहेको महासंघको भनाइ छ।

यस विषयमा नगरपालिकाले समयमै आवश्यक समन्वय, सहजीकरण र स्पष्ट निर्णय नगरे सामुदायिक वनको नियमित सञ्चालन तथा समूहको आर्थिक व्यवस्थापनमा थप जटिलता आउने महासंघले चेतावनी दिएको छ।