कार्की आयोगको प्रतिवेदनप्रति गायक शिव परियारको आपत्ति, ‘मैले भ्रामक प्रचार गरेको होइन’

काठमाडौं / गायक तथा कलाकार शिव परियारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा आफूलाई “सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति” का रूपमा उल्लेख गरिएकोप्रति गम्भीर आपत्ति जनाएका छन्।

आइतबार जारी आधिकारिक प्रेस विज्ञप्तिमार्फत परियारले उक्त आरोप वास्तविकतामा आधारित नरहेको दाबी गर्दै आफूले कुनै भ्रामक सूचना फैलाउने उद्देश्यले पोस्ट नगरेको स्पष्ट पारेका हुन्।परियारले विज्ञप्तिमा २०८२ साल भदौ २३ गते भएको जेन–जी आन्दोलन पछि सामाजिक सञ्जालमा “बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला” भन्ने सामग्री पटक–पटक देखेपछि त्यसको सत्यता बुझ्ने उद्देश्यले मात्र जिज्ञासामूलक पोस्ट लेखेको बताएका छन्।

उनले आफूले सामाजिक सञ्जालमा “हिजो बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला भन्ने खबर छ, के यो सत्य हो?” भनेर प्रश्नमात्र राखेको उल्लेख गरेका छन्। उक्त पोस्ट कुनै पुष्टि, दाबी वा प्रचारका लागि नभई सामाजिक सञ्जालमा फैलिएको खबरको सत्यता बुझ्न गरिएको प्रयास मात्र रहेको उनको भनाइ छ। परियारका अनुसार, पोस्टपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट प्राप्त प्रतिक्रियाबाट उक्त सूचना गलत र भ्रामक रहेको स्पष्ट भएपछि उनले पोस्ट हटाएका थिए।

तर, त्यसपछि केही सामाजिक सञ्जाल पेज, फेसबुक समूह तथा अनलाइन सञ्चारमाध्यमहरूले पोस्टको वास्तविक आशय नबुझी आफूलाई “भ्रम फैलाउने व्यक्ति” का रूपमा चित्रण गर्दै समाचार सामग्री प्रकाशित गरेको परियारले आरोप लगाएका छन्।
उनले त्यही समयमा प्रकाशित समाचार र सामग्रीहरूकै आधारमा कार्की आयोगको प्रतिवेदनमा आफूलाई “सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति” भनेर उल्लेख गरिएको भन्दै गम्भीर दुःख र आपत्ति प्रकट गरेका छन्।

रियारले यस्तो निष्कर्षले आफ्नो व्यक्तिगत प्रतिष्ठा, संवैधानिक नागरिक अधिकार र कलाकारको रूपमा रहेको सामाजिक छविमा नकारात्मक असर परेको बताएका छन्। उनले नेपाल सरकार र सम्बन्धित निकायसमक्ष भ्रामक समाचारका आधारमा गरिएको निष्कर्षलाई पुनर्विचार गरी पुनर्मूल्याङ्कन गर्न आग्रह गरेका छन्।आवश्यक परेमा यस विषयमा सम्पूर्ण सहयोग गर्न तयार रहेको उनले बताएका छन्। साथै, तत्कालीन समयमा आफ्नो सामाजिक सञ्जाल स्टाटसको स्क्रिनसटसमेत सार्वजनिक गरेको उल्लेख गरेका छन्।

उनले आफू सधैं जिम्मेवार, सचेत र सकारात्मक योगदान दिने कलाकार का रूपमा प्रतिबद्ध रहेको जनाउँदै भ्रामक सूचनाप्रति सजग रहन सबैमा आग्रह गरेका छन्।




Leave a Reply

Your email address will not be published.