‘मेरो कविता’ को फाइनल १६ गते हुँदै, अन्तिम चार कवि उपाधि होडमा

दमक / झापाको दमकमा जारी कविताको रियालिटी शो ‘मेरो कविता: द रिदम अफ पोएट्री’ फाइनल चरणमा प्रवेश गरेको छ। तीन महिनादेखि दमकको बेलडाँगीमा छायांकन भइरहेको शोले आफ्नो अन्तिम चार प्रतिस्पर्धी कवि छनोट गर्दै अब उपाधि होड लाई थप रोमाञ्चक बनाएको हो।

आयोजक माइ प्लेटफर्म का अनुसार निर्णायकहरूको मूल्यांकन र प्रतिस्पर्धीहरूले प्राप्त गरेको जनमत का आधारमा अन्तिम चार कवि फाइनलमा पुगेका हुन्। सुरुमा १४ प्रतिस्पर्धी भोटिङ चरणमा पुगेका थिए। जसमध्ये पाँचथरका सेसे थाम्सुहाङ तेह्रथुमका प्रवेग हाङस्रोङ, कचनकवल झापाका टोलीप्रसाद राजवंशी र पश्चिम सिक्किम भारतका सोनाम पाल्झोर फाइनलमा पुगेका हुन । शोका निर्देशक केवल क्षेत्री का अनुसार अब यी चार कवि ‘मेरो कविता’ को पहिलो विजेता बन्ने प्रतिस्पर्धामा उत्रिनेछन्।

‘मेरो कविता’ ले सुरुदेखि नै कवितालाई प्रतिस्पर्धात्मक मञ्च मा उभ्याउने प्रयास गरेको थियो। डिजिटल अडिसनमा सहभागी २५० कवि मध्ये ५० जना लाई फिजिकल अडिसनका लागि छनोट गरिएको थियो। त्यही यात्राबाट विभिन्न चरण पार गर्दै अन्ततः शोले आफ्नो अन्तिम चार पाएको हो। अब शोको ग्रान्ड फिनाले आगामी चैत १६ गते हुने तय भएको छ। सोही मञ्चबाट ‘मेरो कविता: द रिदम अफ पोएट्री’ ले आफ्नो पहिलो विजेता घोषणा गर्नेछ। उक्त रियालिटी शोका निर्णायकमा कविहरू हेमन यात्री, सुमन स्मारिका, दधि अज्ञात र उत्तम तुम्सा रहेका छन्




Leave a Reply

Your email address will not be published.