काठमाडौं / गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङ आज गृहमन्त्री बन्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्रोतका अनुसार उनले शुक्रबार गृहमन्त्री पद तथा गोपनीयताको शपथ लिने तयारी भएको हो।
नयाँ राजनीतिक समीकरणसँगै सरकार गठनको प्रक्रिया तीव्र बनेको बेला रास्वपाबाट गुरुङलाई महत्त्वपूर्ण जिम्मेवारी दिइन लागिएको हो। गृह मन्त्रालय सरकारको सबैभन्दा संवेदनशील र प्रभावशाली मन्त्रालयमध्ये एक मानिन्छ।
स्रोतका अनुसार आज हुने शपथसँगै नयाँ मन्त्रिपरिषद्ले औपचारिक आकार लिन सुरु गर्नेछ। यद्यपि, मन्त्रिपरिषद्मा समेटिने अन्य मन्त्रीहरूको नामबारे भने अझै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
बालेन शाहको नेतृत्वमा बन्न लागेको नयाँ सरकारप्रति अहिले राजनीतिक वृत्तमा चासो र चर्चा दुवै बढेको छ। सरकारको प्राथमिकता, स्वरूप र मन्त्रिपरिषद्को पूर्णता अबको केही दिनभित्र थप स्पष्ट हुने अपेक्षा गरिएको छ।