लेटाङ / सामुदायिक वन अधिकार सुनिश्चितता तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ मोरङ को आयोजनामा लेटाङमा सहभागीमूलक स्रोत नक्साङ्कन तथा अभिमुखीकरण गोष्ठी सुरु भएको छ।

हिजो (मंगलवार) उद्घाटन गरिएको उक्त कार्यक्रम किर्तिमान सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष सन्तराज लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमकी प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय उपमहासचिव सीता श्रेष्ठले सामुदायिक वनको अधिकार संरक्षण, दिगो व्यवस्थापन र स्थानीय सहभागितालाई अझ प्रभावकारी बनाउन यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताइन्।

विशिष्ट अतिथिका रूपमा महासंघ कोशी प्रदेश महासचिव रेनुका दाहाल तथा सचिवालय सदस्य अग्नि पौडेलको उपस्थिति रहेको थियो। त्यस्तै, सामुदायिक वन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोख्रेलले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै स्थानीय तहमा वन व्यवस्थापनलाई पारदर्शी र सहभागितामूलक बनाउनु पर्नेमा जोड दिए।
कार्यक्रमअन्तर्गत लेटाङ नगरपालिकाभित्र रहेका ३२ वटा सामुदायिक वनमा सहभागीमूलक स्रोत नक्साङ्कन गरिने जनाइएको छ। यसबाट वन स्रोतको यथार्थ अवस्था पहिचान, व्यवस्थापन योजना निर्माण तथा वन अधिकारको प्रभावकारी कार्यान्वयनमा टेवा पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा विभिन्न सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो।