नेपाली काग्रेस मोरङ-१ उम्मेदवार फागोको लेटाङका वडा ५, ६ र ८ का मतदाता भेटघाट, चुनाबी अभियान तिब्र

उर्लाबारी / नेपाली कांग्रेसको तर्फबाट मोरङ–१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार खड्ग फागोले शुक्रबार लेटाङ नगरपालिकाको वडा नं.–५, ६ र ८ मा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नु भएको छ। कार्यक्रमका क्रममा उहाँले घर–घरमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले भोग्दै आएका समस्या, गुनासा तथा विकाससम्बन्धी अपेक्षाहरू ध्यानपूर्वक सुन्नु भएको थियो।

स्थानीयवासीहरूले विशेषगरी सडक पूर्वाधारको स्तरोन्नति, केही बस्तीमा खानेपानीको अभाव तथा आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा उपचारका लागि टाढा जानुपर्ने बाध्यता रहेको बताएका थिए। कतिपय स्थानमा सडकको अवस्था जर्जर हुँदा वर्षायाममा आवतजावतमा समस्या हुने र विकास निर्माणका काममा समेत असर पर्ने गुनासो स्थानीयले व्यक्त गरेका थिए। खानेपानी आयोजना सुरु भए पनि पूर्णरूपमा सञ्चालनमा नआएको तथा स्वास्थ्य चौकीको सुविधा अपर्याप्त रहेको विषय पनि उठाइएको थियो।

स्थानीयका मागलाई नोट गर्दै उम्मेद्वार फागोले आफू निर्वाचित भएमा जनताकै बीचमा बसेर प्राथमिकताका आधारमा योजना निर्माण गर्ने र आवश्यक बजेट व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। विकास, सुशासन र जनमुखी कार्ययोजनामार्फत क्षेत्रको समग्र उन्नयन गर्ने आफ्नो अठोट रहेको उहाँको भनाइ थियो।

घरदैलो कार्यक्रमले स्थानीयस्तरमा चुनावी माहोल थप सक्रिय र संवादमुखी बनेको देखिएको छ।




Leave a Reply

Your email address will not be published.