उर्लाबारी / मोरङ–१ मा आगामी फागुन–२१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसका उम्मेद्वार खड्ग फागो को पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको छ। सोमबार मिक्लाजुङ गाउँपालिकाको मधुमल्ला बजार र तोरिबारी क्षेत्रमा सम्पन्न घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको थियो।

कार्यक्रमका क्रममा स्थानीयवासीहरूले वर्षौंदेखि अलपत्र रहेका सडक स्तरोन्नति, खानेपानी समस्या, कृषि पूर्वाधार विस्तार तथा युवालाई रोजगारी सिर्जना जस्ता विषयमा ध्यानाकर्षण गराएका थिए। उनीहरूले जनप्रतिनिधि जनताकै बीचमा बसेर समस्या सुन्ने, छलफल गर्ने र प्राथमिकताका आधारमा समाधान खोज्ने खालको हुनुपर्ने अपेक्षा व्यक्त गरे।
उम्मेद्वार फागोले आफू निर्वाचित भएमा सुशासनलाई पहिलो प्राथमिकता बनाउँदै अधुरा तथा अपुरा विकास योजनाहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। “जनताको मतले संसद् पुगेपछि पनि म जनताकै बीचमा रहनेछु। समस्या पहिचान गरी प्राथमिकताका आधारमा समाधान गर्न निरन्तर लागिपर्नेछु,” उनले बताए।
स्थानीयहरूले फागोलाई विजयी गराएर संसद् पठाउने विश्वास व्यक्त गर्दै मोरङ–१ मा नेपाली कांग्रेसको माहोल दिनप्रतिदिन मजबुत बन्दै गएको प्रतिक्रिया दिएका छन्। चुनाव नजिकिँदै जाँदा गाउँ–गाउँमा देखिएको सक्रियता र उत्साहलाई कांग्रेसका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।