उर्लाबारी / मोरङ–१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार खड्ग फागोले केराबारी गाउँपालिका वडा–२ स्थित सिहदेवीमा बुधबार आयोजित चुनावी कार्यक्रममा स्थानीयवासीका समस्या ध्यानपूर्वक सुन्दै समाधानमा प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको छ।

स्थानीयहरूले २०७० सालदेखि अलपत्र रहेको सिहदेवी–लक्ष्मीपुर–बथाह ट्र्याक खोल्ने योजना शीघ्र सम्पन्न गरी स्तरोन्नति तथा कालोपत्रे गर्न माग गरे। साथै मलिबासे खोलीटार हुँदै समितेन–राजारानी जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए। करिब ३ हजार जनसंख्या रहेको बस्तीमा खानेपानीको चरम समस्या, “एक घर एक धारा” कार्यक्रम अपूर्ण रहनु र उप–स्वास्थ्य चौकीमा डाक्टर अभावका कारण सहज उपचार सेवा नपाइएको गुनासो समेत उनीहरूले राखे। साविकमा सिंगो गाविस रहेको क्षेत्र हाल एक वडा बनेपछि सेवा सुविधा खुम्चिएको स्थानीयहरूको भनाइ थियो।
स्थानीयका माग सुनेपछि उम्मेद्वार फागोले मतका लागि झुटा आश्वासन नबाँड्ने स्पष्ट पार्दै, विजयी गराएमा प्राथमिकताका आधारमा सडक, खानेपानी र स्वास्थ्य समस्याको दीर्घकालीन समाधानका लागि स्थानीयसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै जेफाले र हिलेथाम क्षेत्रको पूर्वाधार विकास, हिलेथाम खेलमैदान स्तरोन्नति तथा अम्लिसो–अदुवा खेतीलाई व्यावसायिक बनाउँदै कृषकको आयआर्जन वृद्धि गर्ने सम्भावना रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेस मोरङका सभापति तथा निवर्तमान सांसद डिगबहादुर लिम्बुले विकास र सुशासनप्रति कांग्रेसको प्रतिबद्धता दोहोर्याउँदै विगतमा ढाकरमा सातुसामल बोकेर हिँड्नुपर्ने यस क्षेत्रको बाटो आज पहलका कारण सवारीसाधन चल्ने अवस्थामा पुगेको स्मरण गराउनुभयो। अधुरा योजना पूरा गर्न सक्षम नेतृत्व आवश्यक रहेको बताउँदै उहाँले फागोलाई मत दिन मतदातासँग आग्रह गर्नुभयो। कार्यक्रममा महाधिवेशन प्रतिनिधि गोमा नेपाल, गाउँपालिका सचिव तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।