माघ दोस्रो सातामा हुने भयो राष्ट्रियसभा सदस्यको निर्वाचन

विराटचोकः राष्ट्रिय सभाका रिक्त सदस्य पदका लागि आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ ।

राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगद्वारा सोमबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो जानकारी दिएका हुन् । आयोगको परामर्शमा सरकारले राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्था रहेको छ ।

५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ अर्थात् १९ सदस्यको आगामी फागुन २० गतेबाट पदावधि सकिँदैछ । तीमध्ये १८ जना सदस्य निर्वाचनका माध्यमबाट चयन हुनेछन् भने एक सदस्य सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित गर्ने व्यवस्था छ ।
यो निर्वाचनबाट महिला ७, दलित २, अल्पसङ्ख्यक २ र अन्यबाट ७ जनाको चयन हुनेछ । निर्वाचनका लागि प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहनेछन् ।