शेयर बजारमा उत्साह, कारोबार रकम आधा अर्ब नजिक

विराटचोकः सोमबार शेयर बजारका लगानीकर्तामा उत्साह देखिएको छ । बजार खुलेको आधा घण्टापछि लगातार बढ्दै गएको नेप्से इन्डेक्स झण्डै २० अङ्कसम्म बढेको थियो । पछि बजार केही तल झरी साढे १३ अङ्कको वृद्धि देखिएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये अन्य र लगानीकोष बाहेक बाँकी १० समूहका सूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचकमा ३ दशमलव ८१ प्रतिशतले हरियाली छाएको छ । त्यस्तै, व्यापार समूहमा ३ दशमलव ६१ र लघुवित्तको समूहमा ३ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । होटल समूहमा सबैभन्दा कम ० दशमलव ७३ अङ्कले बढेको छ ।

नेप्से १३ दशमलव ५१ अङ्कले बढेर १ हजार १ सय ४८ दशमलव ८९ बिन्दुमा पुगेको छ । १ सय ७३ कम्पनीको १४ लाख ५९ हजार ७ सय कित्ता शेयर किनबेच भएको छ । ७ हजार ६ सय २७ पटक भएको कारोबारमा ४६ करोड ४२ लाख २० हजार ३ सय ९२ रुपैयाँको कारोबार भएको छ ।

नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै २ करोड ३० लाख २७ हजार रुपैयाँको शेयर कारोबार हुँदा एनएमबी बैंकको १ करोड ९२ लाख १ हजार रुपैयाँको शेयर कारोबार भएको छ । ८ ओटा कम्पनीको १ करोडभन्दा बढीको कारोबार भएको बजारमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १ करोड ७२ लाख ३६ हजार रुपैयाँको शेयर किनबेच भएको थियो ।

नाडेपसहित धेरै लघुवित्तको शेयरमूल्यमा उच्च वृद्धि
सोमबार मूल्य धेरै बढ्ने अधिकांश कम्पनी लघुवित्त समूहका रहेका छन् । नाडेप लघुवित्तको १० प्रतिशतले मूल्य बढ्दा नेपाल सेवा लघुवित्तको ९ दशमलव ९४ प्रतिशतले शेयर मूल्य बढेको छ । समिट लघुवित्त, समता माइक्रोफाइनान्स, मिथिला लघुवित्त, आँधीखोला लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, विजय लघुवित्तलगायतको शेयरमूल्य उच्च दरले बढेको छ । उच्च मूल्य बढ्ने १० कम्पनीमध्ये ८ ओटा लघुवित्त कम्पनी रहेका छन् ।

नबिल इक्विटी फण्डको सबैभन्दा धेरै ५ दशमलव ७४ प्रतिशतले घट्दा सिभिल बैंकको २ दशमलव १४ प्रतिशतले शेयरमूल्य घटेको छ । बजार बढेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ५९ अर्ब कायम भएको छ ।