पथरी / मोरङको पथरीमा जारी ‘अन्तराष्ट्रिय आमन्त्रण ईन्ट्रा पथरीशनिश्चरे गोल्डकप–२०८२’ को उपाधि भिडन्त आयोजक पथरी ११ फुटबल क्लब र सिरहाको सलहेश युवा क्लबबीच हुने भएको छ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक पथरी ११ ले ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) लाई १–० को झिनो गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। जाँतेमोडस्थित पथरी रंगशालामा भएको तीव्र र रोमाञ्चक खेलमा पथरी ११ का सौर्य राउतले खेलेको २५औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भयो।
खेलमा पथरी ११ लगातार आक्रमणमा रहेर गोलका धेरै अवसर सिर्जना गर्न सफल देखियो। उता, प्रतिरक्षात्मक खेलमा देखिएको एनआरटी अवसरलाई गोलमा परिणत गर्न असफल रह्यो।
उत्कृष्ट प्रदर्शनका आधारमा सौर्य राउत ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई प्रमुख अतिथि तथा पथरी शनिश्चरे नगरपालिकाका प्रवक्ता नविनजंग कार्कीले ट्रफी र नगद पुरस्कार प्रदान गरे । फाइनल खेल कात्तिक २२ गते, शनिबार पथरी रंगशालामा हुने छ।
प्रतियोगिताको सफल सञ्चालनका लागि पथरी शनिश्चरे नगरपालिकाले ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ भने ईन्ट्रा फाउन्डेसन अमेरिकाले मुख्य प्रायोजन गरेको हो।
विजेता टिमले ५ लाख रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल पाउनेछन्। साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई विशेष पुरस्कार पनि प्रदान गरिनेछ।