पथरी / दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप–२०८२ अन्तर्गत बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सिरहाको सलहेश युवा क्लब उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको छ। पाँचथर क्लब फिदिमलाई ४–१ गोल अन्तरले पराजित गर्दै सलहेशले उपाधि नजिकको कदम पूरा गरेको हो।

खेलको पहिलो हाफ बराबरीमै टुंगिए पनि दोस्रो हाफ सुरु भएपछि सलहेशले खेलको रफ्तार आफ्नो पक्षमा मोड्न सफल भयो। खेलको पहिलो गोल सलहेशका रोहन कार्कीले गरेका थिए भने पाँचथरका अभिषेक लिम्बुले बराबरी गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए। तर त्यसपछि सलहेशले लगातार आक्रमण अघि बढाउँदै विपक्षीको रक्षा पंक्तिमा दबाब बढायो। त्यसक्रममा रोमन भुजेल, पुनः रोहन कार्की र कमल खवासले थप तीन गोल गरेपछि पाँचथर खेलमा फर्किन असमर्थ रह्यो।
अब सलहेशले उपाधिका लागि कार्तिक २२ गते फाइनल खेल्नेछ। उसको प्रतिद्वन्द्वी आज (बिहीबार) हुने दोस्रो सेमिफाइनलपछि तय हुनेछ । आजको दोस्रो सेमिफाइनलमा आयोजक पथरी ११ फुटबल क्लब र एनआरटी फुटबल क्लब काठमाडौँ आमनेसामने हुनेछन्। आयोजक पथरी ११ ले ललितपुरको ब्रिगेड ब्वाइज फुटवल क्लवलाई हराउदै सेमिफाइनलको यात्रा तय गरेको थियो भने एनआरटिले झापा ११ लाई हराउदै सेमिफाइनल प्रवेश गरेको थियो ।
८ टिम सहभागी प्रतिस्पर्धाको विजेता टिमले ५ लाख रुपैयाँसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमलाई २ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।