काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी आर्चरी खेलमा नेपालले १ रजतसहित तीन पदक प्राप्त गर्न सफल भएको छ । नेपालले कम्पाउण्ड (५० मिटर) मिक्सतर्फ रजत पदक प्राप्त गरेको हो ।
नेपालले फाइनल खेलमा १ सय ४० अंक ल्याउँदा बंगलादेशले भने १ सय ४८ अंक ल्याउन सफल भएको हो । श्रीलंकाले कास्य पदक हात पार्न सफल भएको छ । १० ओटा स्वर्ण पदकको लागि जारी उक्त प्रतिष्पर्धामा आइतबारसम्म ६ ओटा स्वर्ण पदकको टुङ्गो लाग्दा सबै स्वर्ण बंगलादेशले हात पारेको हो ।
कम्माउण्ड पुरुषतर्फ नेपालले कास्य पदक हात पार्न सफल भएको छ । कम्पाउण्ड महिला तर्फको खेलमा नेपालले सिधै वाई पाएर कास्य पदक प्राप्त गर्न सफल भएको छ । यस इभेण्टमा भुटान सहभागी नभएपछि नेपालले सहजै कास्य पाएको हो ।