सुन्दरहरैंचामा महिला अधिकारसम्बन्धी कानुनी परामर्श

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत २ दिने महिला अधिकार सम्बन्धी कानुनी परामर्श कार्यक्रम सम्पन्न भएको छ ।परोपकार महिला समूहको आयोजनामा मंसिर २१ र २२ गते कोशीहरैचा उद्योग वाणिज्य सङ्घको सभाहलमा नगरप्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो कानुनी परामर्श कार्यक्रममा सुन्दरहरैंचाका वडा नम्बर १, ८, ९, १०, ११ र १२ वडाका करीब ३५ जना महिलाको सहभागिता रहेको थियो । २ दिनसम्म भएको कानुनी परामर्श कार्यक्रममा सहभागी महिलाहरूलाई सुन्दरहरैंचाका कानुनी सल्लाहकार अधिवक्ता बालकृष्ण आचार्यले सहजीकरण गरेका थिए ।

संविधानमा उल्लिखित कानुन, फौजदारी संहिता र देवानी संहिताका विषयमा सहभागीहरूलाई उनले प्रष्टयाएका थिए । गाउँघरमा हुने हिंसालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा रहेर २ दिनसम्म छलफल भएको कार्यक्रमकी सभापति परोपकार संस्थाकी अध्यक्ष बबिता खापुङले बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख ढकालले न्याय सबैमा बराबरी हुने भएकाले हिंसामा महिलामात्र नभई पुरुष पनि पीडित भएर न्याय माग्दै आउने गरेको बताउँदै जुनसुकै किसिमको हिंसा गर्नु अपराध हुने बताए । सहभागीलाई शुभकामना दिँदै ढकालले सबैले आ–आफ्नो कर्तव्य र दायित्व बुझेर सबैको हितका लागि अग्रणी रूपमा समाज निर्माणमा लाग्नुपर्नेमा जोड दिए । यस्तै, ढकालले ज्येष्ठ नागरिकको गुनासो सबैभन्दा धेरै आउने गरेको समेत बताए ।

सोही कार्यक्रममा समाजमा रहेर सामाजिक क्षेत्रमा उत्कृष्ठ नेतृत्व गर्ने ३ जना महिलालाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेमा नगरस्तरीय इन्द्रपुर समस्त भजन समूहकी रुपा घिमिरे, सेवालुङ बचत तथा ऋण सहकारीकी अध्यक्ष कबिता सुब्बा र अमूल्य महिला बचत समूहकी अध्यक्ष धारणा खनाल रहेका छन् ।

सो कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सुशीला अधिकारी, कार्यपालिका सदस्य उर्मिला रिजाललगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन परोपकार महिला समूहकी सचिव निरु बजगाईले गरेकी थिइन् ।