अन्तिम समयमा छायो शेयर बजारमा हरियाली

विराटचोकः दिनभर राताम्मे देखिएको शेयर बजार अन्तिम समयमा आएर हरियो भएर बन्द भएको छ । हिजोको भन्दा ७ अङ्कसम्म तल झरेको बजार अन्तिम समयको आधा घण्टामा साढे ३ अंकले उकालो लागेको हो । नेप्से ३ दशमलव ४५ अंकले बढेर १ हजार १ सय ३५ दशमलव ३७ अंकमा अडिएको छ ।

६ ओटा उपसमूहको सूचक उकालो लाग्दा ६ ओटै उपसमूहको सूचकमा भने रातो पोतिएको छ । १ सय ७१ कम्पनीको शेयर ४ हजार ५ सय २५ पटक किनबेच भएको छ । ९ लाख ८७ हजार ७ सय ३९ कित्ता शेयर २८ करोड ७५ लाख २७ हजार ८ सय २५ रुपैयाँमा किनबेच भएका छन् ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरले अग्रता लिएको छ । सो कम्पनीको २ करोड १३ लाख ३६ हजार रुपैयाँको शेयर किनबेच भएको हो । मुक्तिनाथ विकास बैंकको १ करोड ७२ लाख ४९ हजार, एनएमबी बैंकको १ करोड ६१ लाख र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड २९ लाख १२ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । अन्य कुनै पनि कम्पनीको १ करोडभन्दा बढीको शेयर कारोबार हुन सकेन ।

कञ्चन डेभलपमेन्ट बैंकको ७ दशमलव १०, स्वरोजगार लघुवित्तको ५ दशमलव ९६, युनियन हाइड्रोपावरको ५ दशमलव ८८ प्रतिशतले शेयरमूल्य बढेको छ । बजार बढे पनि नेशनल माइक्रोफाइनान्सको ३ दशमलव ८४, आँखु खोला जलविद्युतको ३ दशमलव ५१ र हिमालयन ऊर्जा विकासको शेयरमूल्य ३ प्रतिशतिले तल झरेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ४१ अर्ब कायम भएको छ ।