भारतको राजधानी दिल्लीमा भएको आगलागीमा कम्तीमा ४० जनाको मृत्यु

विराटचोकः भारतीय राजधानी दिल्लीस्थित एउटा भवनमा आगो लाग्दा ज्यान गुमाउनेहरूको सङ्ख्या ४० जना पुगेको बीबीसीले जनाएको छ ।

दिल्ली दमकल विभागका प्रमुख अतुल गर्गले ६३ जनालाई घटनास्थलबाट निकालिएको जनाएका छन् । लोक नायक अस्पतालकी डा. रितु सक्सेनाले बीबीसीलाई बताए अनुसार कैयौँ घाइतेहरूको उपचार भइरहेको छ ।

घटनास्थल पुगेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मृतकका परिवारलाई राहतस्वरूप १०÷१० लाख रुपैयाँ दिने घोषणा गरेका छन् । घाइतेहरूको उपचार सरकारले गर्ने भएको छ ।

साँघुरो गल्ली भएकाले दमकल र एम्बुलेन्स भित्र जान नसकेको हुनाले उद्धारकर्ताहरूले घाइतेलाई बोकेर बाहिर ल्याइरहेको बीबीसीले उल्लेख गरेको छ ।

ज्यान गुमाउनेमा धेरैजसो १५ देखि २० वर्षका रहेको बताइएको छ । घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुःख व्यक्त गरेका छन् ।