५ जना नेपाली बक्सर फाइनलमा

तस्बिरः राष्ट्रिय खेलकुद परिषद

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङतर्फ ३ जना नेपाली महिला बक्सर फाइनलमा प्रवेश गरेका छन् ।

यसअघि १ जना महिला र १ जना पुरुष फाइनलमा पुगिसकेकाले अब ५ जना बक्सरले फाइनलमा प्रतिष्पर्धा गर्नेछन् ।

शनिबार भएको खेलमा नेपाली महिला खेलाडी ललिता महर्जन, मिनु गुरुङ र संगिता सुनार फाइनलमा प्रवेश गरेका हुन् भने ६४ केजी समूहबाट पुनम रावल यसअघि नै बाइ पाएर फाइनल पुगिसकेकी छिन् ।

पुरुष ४९ केजी तौल समूहको खेलमा नेपालका सुशील थापामगर भारतका विनोद तनवरसँग पराजित भई कास्य पाए । यसैगरी ५६ केजी तौल समूहमा पनि नेपालका पुरन राई पराजित हुँदै कास्यमा सीमित बने ।

यस्तै ६४ केजी तौलको सेमीफाइनलमा नेपालका भुपेन्द्र थापामगर बंगलादेशका मोहम्मद अलामिनलाई अंकको आधारमा हराउँदै फाइनलमा प्रवेश गरेका छन् । पुरुष ९१ केजीको भीडन्तमा भने नेपालका अर्जुन सिगु भारतका गौरव चौहानसँग पराजित हुँदै कास्य पाए ।