उपप्रधानमन्त्री भन्छन्, ‘सातै प्रदेशमा प्राविधिक विश्वविद्यालय स्थापना गरिन्छ’

विराटनगरः उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकार ७ प्रदेशमै प्राविधिक विश्वविद्यालय स्थापनाको योजनामा रहेको बताएका छन् ।

मोरङको बुढीगंगा गाउँपालिकाको हात्तीमुडास्थित मनमोहन स्मृति पोलिटेक्निकको सम्पत्ति तथा दायित्व हस्तान्तरणका क्रममा उनले यस्तो बताएका हुन् । पोलिटेक्निकका अध्यक्षसमेत रहेका पोखरेलले कार्यक्रममा पोलिटेक्निकको सम्पत्ति र दायित्व प्रदेश १ सरकारलाई हस्तान्तरण गरेका थिए ।

पोलिटेक्निकका अध्यक्ष पोखरेल, विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री एवं सहकुलपति सामाजिक विकास मन्त्री जीवन घिमिरेले सम्पत्ति र दायित्व हस्तान्तरण दस्तावेजमा हस्ताक्षर गरेका छन् ।

मनमोहन स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको २० बिघा क्षेत्रफल, ३१ ओटा भवन र विभिन्न उपकरण हस्तान्तरण गरिएको पोलिटेक्निकले जनाएको छ ।