नगर खेलकुद महोत्सव : प्रभात एस.एफ.सी. सडन डेथमा विजयी

पथरी / पथरी शनिश्चरे खेलकुद महोत्सव अन्तर्गत आज भएको फुटबल प्रतियोगितामा प्रभात एस.एफ.सी. बिजयी भएको छ ।

प्रभातले सडन डेथमा ६–५ गोल अन्तरले यलम्बर युथ क्लबलाई स्तब्ध पार्दै जित निकालेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा पनि दुवै टोलीले ५–५ गोल गर्दै बराबरी गरेपछि खेल सडनडेथमा पुगेको थियो । सडन डेथमा यलम्बरका महेन्द्र मगरको प्रहार प्रभातका गोलकिपर समिर क्षेत्रीले उत्कृष्ट बचाउ गरेपछि प्रभातले जित सुनिश्चित गरेको थियो । प्रभात क्लबका तर्फबाट टाईब्रेकरमा युकेश तामाङ, सौर्य राउत, सनम मुडयारी, धिरेन बिष्ट र दिपेश मगरले गोल गरे । सडन डेथमा निर्णायक गोल दिपेन माझीले गरेका थिए ।

यसैगरी यलम्बर एफ.सी.का तर्फबाट सन्जिव कुरुङबाङ, रोहन न्यौपाने, न्युचन धिमाल, रोमन न्यौपाने र रुनी तामाङले गोल गरेका थिए । यलम्बरका रोमन न्यौपानेलाई उत्कृष्ट प्रदर्शनका आधारमा ‘म्यान अफ द म्याच’ घोषित गरियो । न्यौपानेलाई वडा नं. ८ का वडाध्यक्ष एवं नगर प्रवक्ता नविन कार्कीले पुरस्कार र मेडल प्रदान गर्नुभयो ।

फुटबल प्रतियोगिता अन्तर्गत आजको खेल एच. राइजीङ एफ.सी. र पुल्चोक एफसी बीच हुने आयोजकले जनाएको छ । नगर खेलकुद विकाश समितिले बैशाख २० देखि ३० सम्म नगर खेलकुद महोत्सव आयोजना गरेको छ ।




Leave a Reply

Your email address will not be published.