सुकुना बहुमुखी क्याम्पसको प्रजातान्त्रिक प्राध्यापक सङ्घमा रमेश खतिवडा, २८ वर्षपछि २ सङ्घ

 विराटचोकः सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचामा प्रजातान्त्रिक प्राध्यापक सङ्घको गठन भएको छ । प्रगतिशील प्राध्यापक सङ्गठनको मात्र वर्चस्व रहेको सो क्याम्पसमा आजदेखि २ ओटा प्राध्यापक सङ्घ गठन भएका हुन् । २०४८ सालमा स्थापित सो क्याम्पसमा विज्ञान सङ्कायका प्रध्यापक रमेश खतिवडाको अध्यक्षतामा ७ सदस्यीय प्रजातान्त्रिक प्राध्यापक सङ्घ गठन भएको हो ।

खतिवडाले शिक्षकको हकहितका लागि प्रजातान्त्रिक सङ्घ निर्माण गर्नुपरेको बताए । समितिको उपसभापतिमा लेखबहादुर धिमाल, सचिवमा नीलकण्ठ दाहाल, कोषाध्यक्षमा सोमा बस्नेत र सदस्यमा जितेन्द्र लिम्बू, नकुलप्रसाद बजगाईँ, ज्ञानेन्द्र अधिकारी रहेका छन् ।

नवगठित प्राध्यापक सङ्घका सभापति खतिवडाले क्याम्पसमा एउटा मात्र प्राध्यापक सङ्घ अस्तित्वमा रहेको अवस्थामा फरक विचारधाराको शिक्षकको सङ्घ गठन भएको बताए । फरक विचारधाराको समूहलाई एकीकृत गरी क्याम्पसको शैक्षिक वातावरणमा सकारात्मक टेवा पुर्याउने उद्देश्यले समूह गठन भएको अध्यक्ष खतिवडाले बताए । सुकुना बहुमुखी क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता एवम् प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त क्याम्पस हो ।