५ हजार मिटर दौडमा गोपीलाई स्वर्ण

तस्बिरः राष्ट्रिय खेलकुद परिषद
विराटचोकः नेपालका गोपिचन्द्र पार्कीले १३ औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन् ।

एथलेटिक्सको चौथो दिन शुक्रबार भएको ८ स्पर्धाको फाइनलमा नेपालले जितेको त्यो नै एक मात्र स्वर्ण रह्यो भने सोही स्पर्धामा नेपालकै हरिकुमार रिमालले कास्य पदक जिते । श्रीलंकाले महिला र पुरुष ४ सय मिटर रिले तथा महिला ५ हजार मिटर गरी ३ स्वर्ण जित्दा पाकिस्तान र भारतले समान २ स्वर्ण जिते ।

५ हजार मिटर पुरुषमा स्वर्ण जित्ने क्रममा गोपीले निर्धारित दूरी १४ मिनेट ५४ दशमलव २० सेकेण्डमा पूरा गरे । रजत विजेता भारतका सुनिलदबार र कास्य विजेता नेपालका हरिले निर्धारित दूरी पूरा गर्न क्रमशः १४ मिनेट ५५ दशमलव २१ र १४ मिनेट ५८ दशमलव ५७ सेकेण्ड खर्चिए ।