सुन्दरहरैंचा– ८ मा भएको स्वास्थ्य शिविरमा अपाङगता परिचयपत्र वितरण र मेलमिलाप केन्द्रको उद्घाटन

विराटचोकः मोरङको सुन्दरहरैँचा वडा नम्बर ८ मा निःशुल्क पाठेघर जाँच शिविर, अपाङ्गता परिचयपत्र वितरण र मेलमिलाप केन्द्रको उद्घाटन समारोह आज शुक्रबार सम्पन्न भएको छ । वडा नम्बर ८ स्थित चिरम स्वास्थ्य प्रतिष्ठानमा सबै कार्यक्रम सम्पन्न भएको हो ।

शुक्रबार बिहान ८ बजेबाट निशुल्क महिला पाठेघर जाँच शिविर सञ्चालन भएको थियो । शिविरमा करीब २ सय महिलाले स्वास्थ्य लाभ लिएको वडा नं ८ का अध्यक्ष खेमप्रसाद न्यौपानेले बताए ।

वडाले अपाङ्गता भएका १८ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । कार्यक्रम नेपाल परिवार नियोजन सङ्घ विराटनगर, नारी विकास सङ्घ सलकपुर, भुल्के आमा समूह र महिला समाजको सहयोगमा भएको थियो ।

यस्तै, वडा नम्बर ८ मा रहेको मेलमिलाप केन्द्रको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले गरिन् । तामाङले गाउँघरमा हुने साना घटनालाई समुदाय स्तरमै मेलमिलाप गर्न मेलमिलाप केन्द्रले महत्वपूर्ण काम गर्ने बताइन् ।

सो कार्यक्रममा मेलमिलाप संयोजक, कार्यपालिका सदस्य, मेलमिलाप समितिका सदस्य, वडा सदस्यलगायतको सहभागिता रहेको थियो ।