बेलबारी गोलडकपको सेमिफाइनल समिकरण पुरा, सलहेस फुटबल क्लब सेमिफाइनल प्रवेश

पथरी / भारत पश्चिम वंगालको दलसिंहपारा फुटबल एकेडेमीलाई ३–२ गोलले हराउँदै सलहेस फुटबल क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण सातौं आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सलहेस क्लबको बुधबार जितसँगै गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । सलहेस फुटबल क्लबले कात्तिक ९ गते चित्लाङ फुटबल क्लबसँग दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । सलहेश फुटबल क्लबका अजयी मार्टिनले चौथो मिनेटमा गोल गरे । समीर तामाङले दिएको पासलाई मार्टिनले गोल गरे । लगत्तै ८ ओैं मिनेटमा मार्टिनको पासमा समीर तामाङले गोल गरे । अन्डर ट्वान्टीको राष्ट्रिय टिमका खेलाडी समीर तामाङले २६ ओैं मिनेटमा सलहेसको जितका लागि वान भर्सेस वानमा उत्कृष्ट गोल गरे ।

दलसिंहपारा फुटबल एकेडेमीले मध्यान्तर अघिको अतिरिक्त समयमा १ गोल फर्कायो । दलसिंहपाराका लागि रोहन थापाले गोल गरे । मध्यान्तर अघि ३–१गोलको अग्रता बनाएको सलहेस बिरुद्ध भारतीय टिमले ४६ ओैं मिनेटमा सुन्दर गोल गर्दै गोल अन्तर घटाएको थियो । दलसिंहपाराका लागि दोस्रो गोल रोहन थापाले गरे । २ गोल गरेर खेलमा फर्किएको भारतीय टिमले मध्यान्तर पछि उत्कृष्ट खेल खेलेपनि हार टार्न सकेनन ।

बुधबारको खेलमा सलहेस फुटबल क्लबका समीर तामाङ म्यान अफ द म्याच घोषित भए । तामाङलाई प्रदेश खेलकुद विकास समिति कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेतले नगद ५ हजार सहित ट्रफि प्रदान गरे । बिहीबार पहिलो सेमिफाइनलमा झापा ११ ले बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देहीसँग प्रतिस्पर्धा गर्नेछ ।