हरियाली सामुदायिक वनको १९ औं वार्षिक साधारणसभा

पथरी / मोरङको पथरी शनिश्चरेमा स्थापित हरियाली सामुदायिक वन उपभोक्ता समूह १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधवार हरियाली सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा भएको सो वार्षिक साधारणसभामा विभिन्न कार्यक्रमहरु हुनुका साथै संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

साधारणसभाका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापोले हरियाली वनको कार्यले उपभोक्ताहरु खुशी रहेको बताउनुभएको छ । वनको १९ औं वार्षिक साधारणसभामा मन्तव्य राख्ने क्रममा नगर प्रमुख तुम्वापोले भन्नुभयो–‘ऐन नियमसंगत हरियालीले विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ, यस्तै वनले विपन्नको घर निर्माण गर्ने, उपभोक्ताहरुका लागि तालिमहरु आयोजना गर्ने र विपन्नहरुलाई आर्थिक सहयोग गर्ने लगायतको कार्यले उपभोक्ताहरु निक्कै खुशी रहेको मैले पाएको छु ।’

वार्षिक साधारणसभामा अध्यक्ष काबुलबहादुर मगरले संक्षिप्त प्रस्तुतिसँगै भावी योजनाहरु प्रस्तुत गर्नुभयो । यस्तैगरी सचिव निर्मला चौहानले आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन तथा आ।व। २०८१/८२ को प्रस्तावित भावी कार्ययोजना र कोषाध्यक्ष कमला लिम्बुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जेष्ठ नागरिकहरु तारानाथ पौडेल, फलामसिंह राई र पवित्रा अधिकारीलाई नगद रु। ३ हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तैगरी वन हेरालुद्वय हर्कबहादुर राई र मनकुमार गुरुङलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको बीच बीचमा उपभोक्ताहरु माझ भाग्य चिठ्ठा तान्ने कार्यक्रमले रोचकता थपेको थियो ।

सो कार्यक्रममा वैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता महासंघ कोशी प्रदेश अध्यक्ष दिलराम राई, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहाल, सव डिभिजन वन कार्यालय पथरीका प्रमुख त्रिभुवन साह, पथरी शनिश्चरे वडा नं ३ का अध्यक्ष बिजय लिम्बु, वडा नं ७ का अध्यक्ष उद्धवराज बस्नेत लगायतको उपस्थिति रहेको थियो ।