सांसद शर्माले नमुना बालगृहका बालवालिकाको निशुल्क उपचार र स्वास्थ्य विमा गरिदिने

प्रेम के.डि
पथरी / मोरङ क्षेत्र नं ३ वाट निर्वाचित संघिय सांसद सुनिल शर्माले उर्लावारीमा रहेको नमुना वालगृहका बालवालिकाको निशुल्क उपचारका साथै स्वास्थ्य विमा समेत गरिदिनुहुने भएको छ ।

निर्वाचन क्षेत्र नं १ मा पर्ने उर्लावारीमा रहेको उक्त वालगृहमा शनिवार पुगि सांसद शर्माले त्यहाँका बालवालिकाका लागि उक्त प्रतिवद्धता जनाउनुभएको थियो । नेपाली काङग्रेस मोरङ जिल्ला सभापति तथा पूर्व युवा तथा खेलकुदमन्त्री डिगवहादुर लिम्बु र कोशि प्रदेससभा सदस्य शोभा पालुङ्वा सहित बालगृह पुग्नुभएका सांसद शर्माले काठमाडौँको सिनामंगलमा रहेको काठमाडौँ मेडिकल कलेज र विराटनगरमा रहेको नोवेल शिक्षण अस्पतालमा उक्त सुविधा दिइने बताउनुभयो । हाललाई १ वर्षका लागि दिइने उक्त सेवाबाट आश्रमका करिव ७२ जनाले सुविधा पाउने भएका छन् ।

आश्रममा २ देखि २२/२३ वर्षसम्मका बालवालिका रहेको उक्त बालगृहकी संस्थापक मिना बरालले बताउनुभयो । सांसद शर्माले देशका दुरदराजमा रहेका विपन्न नागरिकका लागी स्वास्थ्य उपचारको ब्यवस्था मिलाउने अभियान चलाउदै हिड्नुभएको छ ।