किराना तथा माछा पसलको अनुगमन

पथरी / पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिका संयोजक देविमाया काफ्लेको संयोजकत्वमा पथरी बजारमा रहेका किराना पसल र माछा पसलहरूको अनुगमन गरिएको छ ।

आज नगरपालिकाको वडा नं. १ मा स्थापित किराना पसल, माछा पसल तथा होटलहरूको अनुगमन गरिएको हो । ३५ वटा किराना पसल तथा माछा पसलहरूको अनुगमनमा म्याद नाघेका खाद्यान्न लगायतका किराना आइटम, पेय पदार्थहरु डिस्पोज गरिएको थियो । यसैगरी माछा पसलहरुमा मरेका माछाहरू फ्रिजमा राखिएका खान अयोग्य माछाहरुलाई नियन्त्रण गरी डिस्पोज गरिएको हो । अनुगमनका क्रममा पसल दर्ता भए नभएको र नविकरण नभएकाहरुलाई तुरुन्त नविकरण गर्न निर्देशन दिइएको थियो ।

सो अनुगमनमा अनुगमन समितिका सदस्य एवं वडा नं. ९ का अध्यक्ष वीरबहादुर राई, वडा नं. १ का अध्यक्ष भिम राई, वडा सदस्यहरू, नगरका राजश्व शाखा प्रमुख ताराप्रसाद ढकाल, स्वास्थ्य शाखा सिअहेव अधिकृत एकराज खत्री, प्रा.स. पशुपंक्षी शाखा जनक चौधरी, इप्रका पथरीका प्रतिनिधिहरू र नगर प्रहरीहरूको उपस्थिति रहेको थियो ।