दुर्गा माविको टोली सुझाव संकलन गर्न प्रत्येक घरमा पुग्दै

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं ७ स्थित लामाटोलीमा रहेको दुर्गा माध्यमिक विद्यालयको टोलीले सुझाव संकलन गर्न घरदैलो अभियान गरिरहेको छ ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालयमा कार्यरत शिक्षक कर्मचारी, अभिभावक र सरोकारवाला सेवा क्षेत्र भित्रको प्रत्येक घरमा हिंडिरहेको हो । असोज ११ गतेबाट सुझाव संकलन गर्न सुरु गरेको घरदैलो अभियान दैनिक रुपमा बिहान ७ बजेदेखी ११ बजे संचालन गरिरहेको विद्यालयका सहायक प्रधानाध्यापक केशव न्यौपानेले जानकारी दिए ।

पथरी शनिश्चरे नगरपालिकाको शिक्षा शाखाबाट विद्यार्थी संख्या न्यून भएको र यस्तै रहेमा कक्षा घटुवा हुने पत्रचार गरेपछि बिभिन्न कार्यक्रम गर्दै आएको यस विद्यालयले हाललाई घरदैलो अभियान संचालन गरिरहेको छ ।

असोज ११ गतेदेखी आज असोज १९ गते सम्मा करिब ५ सय घरमा गएर सुझाव लिने काम भएको सोही विद्यालयमा कार्यरत शिक्षिका लक्ष्मी नेपाल बस्नेतले बताइन । विद्यालयको खस्कदो अवस्थालाई मध्यनजर गरेर घरदैलो गर्दा अभिभावकबाट राम्रा सुझाव आएको र त्यसलाई अनुमोदन गर्दै कार्यन्वयनको पाटोमा लगिने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उद्धवराज बस्नेतले बताएका छन ।

विगत केहीवर्ष अगाडीदेखी विद्यालय प्रशासन, अभिभावक र स्थानिय सरोकारवालाहरुसंग एक आपसमा समन्वय नहुँदा समस्या आएको स्थानियहरु बताउँछन । सुझाव संकलनको क्रममा शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकहरु लाग्नु पर्ने, विद्यालयमा राजनितिक हस्तक्षेप बन्द गर्नुपर्ने, विद्यालयको भौतिक पुर्वाधार ब्यवस्थीत गर्दै सौचालय सफा राख्नुपर्ने, जाँड रक्सी नखाने शिक्षक हुनु पर्ने, यातायातको ब्यवस्था गर्नु पर्ने लगायतका सुझावहरु पाएको अभियान टोलीका एक सदस्यले बताए ।

यति सुझावहरु कार्यन्वयन भएमा आफ्ना छोरा छोरी यस विद्यालयमा पढाउने वचनवद्धता अभिभावकहरुबाट पाएको जनाइएको छ ।