विपन्न दलित विद्यार्थीलाई वडाद्वारा शैक्षिक सामग्री वितरण

विराटचोकः सुन्दरहरैंचाको वडा नम्बर ७ को कार्यालयले वडाभित्रका विपन्न र दलित परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

वडाभित्रका ३ ओटा विद्यालयका ७२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । प्रत्येक विद्यार्थीलाई झोला, आधा दर्जन कपी, आधा दर्जन पेन्सिल र ज्यामिति बक्सलगायतका शैक्षिक सामग्री वितरण गरेको हो । साजीलाल आधारभूत विद्यालय, ठडिया आधारभूत विद्यालय र पञ्चायत माध्यमिक विद्यालयका दलित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङ, विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत टेकनाथ रेग्मीलगायतले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए । कार्यक्रमका अन्य अतिथि सामाजिक शाखाका प्रमुख तीर्थ घिमिरे, ७ नम्बर वडाका अध्यक्ष चैतन्यप्रसाद सिटौला, वडा सदस्य विष्णुप्रसाद घिमिरे, भुवनसिंह आले, मीना ओझा, सुमित्रा बिकलगायतले शैक्षिक सामग्री वितरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष सिटौलाले यसपटक दलित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएकोमा आगामी दिनमा जनजाति, विपन्न र अन्य विद्यार्थीलाई पनि शैक्षिक सामग्री वितरण गरिने बताए ।

कार्यक्रममा पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद अधिकारी, ठडिया आधारभूत विद्यालयकी प्रधानाध्यापक वाणी काफ्ले गुरागाईं, साजीलाल आधारभूत विद्यालयकी प्रधानाध्यापक विष्णुदेवी श्रेष्ठ, सिर्जना सामुदायिक बनका अध्यक्ष भक्तिप्रसाद सिटौला, गछिया बजार व्यवस्थापन समितिका अध्यक्ष प्रह्लाद थोप्रा, गोठगाउँ बजार व्यवस्थापन समितिका अध्यक्ष गोकुल न्यौपाने, सामाजिक युवा अभियानका लागि नेपालका अध्यक्ष ज्ञाननाथ ढकाललगायत उपस्थित थिए । कार्यक्रमको सञ्चालन वडा नम्बर ७ का सचिव कृष्ण दाहालले गरेका थिए । कार्यक्रम वडा नम्बर ७ को प्राङ्गणमा भएको थियो ।