पुरुष क्रिकेटमा बंगलादेशद्वारा माल्दिभ्स पराजित

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुदको पुरुष क्रिकेट अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा बंगलादेश अन्डर–२३ ले माल्दिभ्सलाई १ सय ९ रनले पराजित गरेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा सम्पन्न खेलमा पहिले ब्याटिङ गर्दै बंगलादेशले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले १९ दशमलव २ ओभरमा ६५ रन मात्र बनाउन सक्यो ।

माल्दिभ्सको ब्याटिङमा अलि इभानले १२ तथा एहमद हसनले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बंगलादेशको लागि तन्भिर इस्लाम एक्लैले ५ विकेट लिए भने अबेदिन अफ्रिदी र अफिफ हुसेनले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।

बंगलादेशको लागि नज्लुल हुसेनले सर्वाधिक ४९ रन, कप्तान सौम्य सरकारले ४६ रन तथा मोहम्मद नैमले ३८ रन बनाए । माल्दिभ्सको बलिङमा इब्राहिम हसन, अज्यान फर्हाथ र मोहम्मद महफुजले समानले १–१ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच ५ विकेट लिएका तन्भिर इस्लाम चुनिए ।