ट्रायथलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र १ कास्य

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पाएको छ ।

३ दिनसम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडीले ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र दुआथलनमा पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले एक÷एक स्वर्ण नेपाललाई दिलाएका थिए ।
त्यसैगरी दुआथलन पुरुषतर्फको स्प्रिन्ट विधामा लक्ष्मण मल्ल र सोही विधाको महिलातर्फ हुमी बुढामगरले नेपाललाई रजत पदक दिलाएका छन् । साथै सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापामगर र वसन्त थारुको टिमले मिक्स टिम रिले ट्रायथलनमा रजत पदक प्राप्त गरेको थियो ।
पुरुषतर्फको स्प्रिन्ट विधाको ट्रायथलनमा वसन्त थारुले नेपाललाई कास्य पदक दिलाएका थिए । यससँगै नेपालले ट्रायथलनमा कुल ६ पदक प्राप्त गरेको छ ।
नेपालका लागि मुख्य प्रतिस्पर्धी देश भारतले २ स्वर्ण, २ रजत र १ कास्य हात पारेको छ । त्यसैगरी, श्रीलंकाले १ स्वर्ण र ३ कास्य पाएको छ ।