अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा स्वास्थ्य परीक्षण तथा हाजिरीजवाफ सद्भाव र्याली

विराटचोकः दिगो विकासको लक्ष्य अपाङ्गमैत्री भविष्य भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिको २८ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार मोरङको सुन्दरहरैंचा नगरपालिकामा र्याली निकालिएको छ ।

अपाङ्गता नगर समन्वय समिति सुन्दरहरैंचा पुनस्र्थापना विकास केन्द्र र अपाङ्ग महिला सङ्घ मोरङको संयुक्त आयोजनामा अपाङ्ग समन्वय समितिको कार्यालयबाट शुरु भएको सद्भाव र्याली नगरपालिकाको कार्यालय हँुदै इन्द्रपुर जेसीज मंगलस्मृति प्रतिष्ठान पुगेको थियो । कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ रहेकी थिइन् ।

र्यालीमा अपाङ्गता भएका व्यक्तिले ‘अपाङ्गतामैत्री पहुँचयुक्त प्रविधिको विकास गर, नयाँ नेपालको आधार अपाङ्गता भएका व्यक्तिको समावेशी रोजगार, हरेक तहमा अपाङ्गता भएका महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गराँै, अपाङ्गता भएका आधारमा विभेद गर्न पाइन्नलगायतका प्ले कार्ड बोकेका थिए ।

यस्तै, आज नै सबै वडाका अपाङ्गता भएका व्यक्तिहरूबीच हाजिरीजवाफ प्रतियोगिता समेत सम्पन्न भएको छ । प्रतियोगितामा वडा नम्बर ११ पहिलो, वडा नम्बर ३ दोस्रो र वडा नम्बर ७ तेस्रो भएको छ ।

त्यसैगरी, निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा १ सय २० जनाको आँखा जाँच र ८० जनाको कानको जाँच गरिएको नेपाल अपाङ्गता महिला सङ्घ मोरङकी अध्यक्ष भीमा खतिवडाले बताइन् ।