योजना तर्जुमा सम्बन्धि एकदिवसीय गोष्ठी सम्पन्न

पथरी / सव डिभिजन वन कार्यालय कानेपोखरीको आयोजनामा योजना तर्जुमा सम्बन्धि एकदिवसीय गोष्ठि शनिवार सम्पन्न भएको छ । पथरीशनिश्चरे १० स्थित श्री डाँस मोरङगी सामुदायिक वनको सभाहलमा सम्पन्न उक्त गोष्ठीलाई सव डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख अलाउदिन मियाले सहजीकरण गरेका थिए ।

डाँस मोरङगी सामुदायिक वनका अध्यक्ष मदन पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा सव डिभिजन वन कार्यालय कानेपोखरी अन्तर्गतका १० वटा सामुदायिक वनबाट ६० जनाको सहभागिता रहेको थियो । जसमा प्रत्येक वनका अध्यक्ष, उपाध्यक्ष, सचिव,कोषाध्यक्ष र प्रत्येक वनका सीमान्तकृत समुदायका २–२ जना उपभोक्ताको उपस्थिति रहेको थियो । पथरीशनिश्चरेका ४ र कानेपोखरीका ६ वटा वन सव डिभिजन वन कार्यालय कानेपोखरी अन्तर्गत पर्दछन् । जसअन्तर्गत पथरीशनिश्चरेवाट डाँस मोरङ्गी सामुदायिक वन, भुल्के पशुपति सामुदायिक वन, सिता छधारे सामुदायिक वन र महिला जागृती वन रहेका छन् भने कानेपोखरी गाउँपालिका अन्तर्गत ग्रामीण सुधार सामुदायिक वन, दहिलामी चौरी सामुदायिक वन, भुल्के सुन्तली सामुदायिक वन, जनजागृति सामुदायिक वन, स्थानीय ग्रामिण विकास सामुदायिक वन र लक्ष्मी सामुदायिक वन रहेका छन् ।

गोष्ठिमा आगामि आर्थिक वर्ष २०८१÷८२ का लागि गरिने वन संरक्षण तथा विकास र समुदायमा आधारित सामूदायिक विकासका वारेमा समूदायले खेल्नुपर्ने भूमिका  वनाउनुपर्ने योजनाका वारेमा समेत छलफल भएको थियो । आगामी फागुन ८ गते देखि हाति हिँड्ने बाटो करिडोरको प्रत्यक्ष पैदलयात्राद्धारा प्रदेशका मूख्यमन्त्री, वनमन्त्री तथा विज्ञहरुको टोलिलाई यस क्षेत्रका सामुदायीक वनहरुले यात्रामा सहभागिता जनाउने विषयमा पनि गोष्ठिमा छलफल भएको थियो ।