सुन्दरहरैंचाका हाकिम र लेखा अधिकृतलाई हटाउने चलखेल

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्बिकाप्रसाद चौलागाई र लेखा अधिकृत पुण्यप्रसाद ढकाललाई हटाउने चलखेल सुरु भएको पाइएको छ । प्रमुख प्रशासकिय अधिकृत चौलागाईलाई सरुवा लिएर जान दबाब दिएको र लेखा अधिकृत पुण्यप्रसाद ढकाललाई पुर्ण रुपमा जागिर छाड्न दबाब दिएको पालिका स्रोतको दाबी छ ।

नगरमा आफू अनुकुल आर्थिक चलखेलमा सहयोग नगरेको भन्दै प्रमुख प्रशासकिय अधिकृत चौलागाईको सरुवा गर्न नगर भित्रैको एक समूह लागि परेको नगर स्रोतको जिकिर छ । प्रमुख प्रशासकिय अधिकृत चौलागाईको सरुवा गर्न नगरको एक टिम पटक पटक मन्त्रालय पुग्ने गरेको पालिकामै कार्यरत एक कर्मचारी बताउँछन् ।

चौलागाई आउनु भन्दा अगाडि नगरमा योजना भन्दा बाहिरका धेरै फायलहरु सम्झौता भएका थिए । त्यही योजना भन्दा बाहिरका फायलहरुमा हस्ताक्षर नगर्दा सरुवा लिएर जान दबाब आइरहेको प्रमुख प्रशासकिय अधिकृत निकट ती कर्मचारीको दाबी छ ।

प्रमुख प्रशासकिय अधिकृतले उक्त फायलहरुमा हस्ताक्षर नगरेकै कारण लेखा अधिकृत ढकाललाईसमेत विभिन्न धम्की दिएर जागिर छोड्न दबाब दिएको ढकाल स्रोत भन्छ । ढकालले जिम्मेवारी सम्हाल्नु अघि पनि सुन्दरहरैँचाका तत्कालिन लेखा अघिकृतलाई अख्तियारले २ लाख घुस लिएको आरोपमा पक्राउ गरेको थियो । वर्तामान लेखा अधिकृत ढकालको सेवा अवधि सकिन पन्ध्र महिना मात्र बाँकी रहेको छ ।

प्रमुख प्रशासकिय अधिकृत चौलागाई सुन्दरहरैंचामा करिब एक वर्ष अगाडि आएका थिए । स्थानिय तहमा प्रमुख प्रशासकिय अधिकृतको अवधी २ वर्ष सम्म रहने व्यवस्था रहेको छ । तर सुन्दरहरैंचा नगरपालिकामा जनप्रतिनिधी र कर्मचारी बिच कार्यगत कुरा नमिल्दा प्रमुख प्रशासकिय अधिकृत १ वर्ष सम्म पनि टिक्न नसकेको उदाहरण धेरै छन् ।

आर्थिक वर्षको अन्त्यमा प्रमुख प्रशासकिय अधिकृत तथा लेखा अधिकृत सरुवा गर्न खोज्दा नगरमा रहेका योजनाहरु अलपत्र पर्ने सम्भावना बढी छ ।