बेलबारी । अमना सिसौली सामुदायिक वन उपभोक्ता समूहको कार्यालय भवन र बौद्धदाह संस्कार स्थल शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले शनिवार उक्त भवन र बौद्धदाह संस्कार स्थलको शिलान्यास गरेका हुन। शनिवार शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले भने ‘सामुदायिक वन के का लागि स्थापना भएको उपभोक्ता समितिले त्यो भुल्न हुँदैन । सामुदायिक वन नाफामुखी र पक्षपाती नभई उपभोक्तामुखी हुनुपर्छ ।’
त्यस्तै कार्यक्रममा बोल्दै कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी सामुदायिक वनहरूको सहयोगमा विकासका धेरै काम भएको र त्यसलाई निरन्तरता दिँदै जानुपर्ने बताएका छन् भने वनका अध्यक्ष भोजराज बस्नेतले स्थानीय, प्रदेश र संघ सरकारले सहयोग गरे यस्तो बहुमुखी भवन लगायतका कामले थप प्रोत्साहन हुने बताए । उनले भवनमा कवर्डहल, जेसिस कार्यालय, सभाहल, वनको कार्यालय, पुस्तकालय लगायत रहने दाबी गरे ।
कार्यक्रममा बेलबारी नगरपालिका उपप्रमुख नितु थापा कोइराला, नेपाली काङ्ग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, नेपाली काङ्ग्रेस महासमिति सदस्य नगेन्द्र जमरकट्टेल, काङ्ग्रेस बेलबारी नगर समितिका सभापति छत्र लिम्बु, माओवादी बेलबारी नगर कमिटी अध्यक्ष पर्शुराम सुवेदी लगायतको उपस्थिति रहेको थियो ।