बेलबारी । मेची बहुउद्देश्यीय सहकारी संस्थाले बेलबारी सेवा कार्यालयका सदस्यका लागि वित्तीय साक्षरता तथा उत्प्रेरणा मूलक कार्यक्रम आयोजना गरेको छ । शुक्रवार बेलबारी १ स्थित सांस्कृतिक भवनमा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाको वित्तीय अवस्था, सदस्यले पाउने सेवा सुविधा, वर्तमान अवस्थामा वित्तीय कारोबार गर्दा ध्यान पुर्याउनु पर्ने कुराबारे सदस्यलाई सुसूचित गर्न कार्यक्रम आयोजना गरेको संस्थाको शिक्षा तथा तालिम उपसमितिले जनाएको छ ।
तालिम उपसमिति संयोजक लक्ष्मी दाहाल, सह संयोजक गीता कुवर, संस्थाका प्रमुख कार्यकारी अधिकृत खोम प्रसाद बगालेले संस्थाको अवस्था, सदस्यले पाउने सुविधा लगायत बारे जानकारी गराएका थिए । कार्यक्रममा सेयर सदस्यका छोरा छोरी मध्ये ‘प्लस टु’मा संस्थागत तथा सामुदायिक विद्यालय तर्फबाट उत्कृष्ट आशा ठाकुर र जेशिका खनाललाई १०र१० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो । यस्तै गएको साधारण सभामा उत्कृष्ट सुझाव दिने सदस्यहरू नवीन विश्वकर्मा र कमल लुइँटेल पनि पुरस्कृत भए । संस्थाले गम्भीर रोगको उपचार बापत एक सेयर सदस्यलाई ५० हजार रुपैयाँ नगद प्रदान गरिएको छ।
संस्थामा रकम लगानी गरेका सेयर सदस्यहरूलाई संस्थाको सम्पूर्ण जानकारी प्रदान गर्न संस्थाले यस्ता कार्यक्रमहरू नियमित रूपमा गर्ने गरेको मेची सहकारी बेलबारी सेवा कार्यालयले जनाएको छ । बेलबारी सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक सन्तोष कुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सञ्चालक समिति सचिव राजेन्द्र दाहाल,सदस्य खेमराज घिमिरे लगायतको पनि उपस्थिति रहेको थियो । कार्यक्रम तालिम समिति सदस्य गायत्रा लामिछानेले कार्यक्रम सञ्चालन गरेकी थिइन ।