समाचार प्रभाव: कनेक्ट एजुकेसनको ठगीमा बेलबारी नगरपालिकाको अंकुश

बेलबारी । कोशी प्रदेश स्तरीय हस्तलेखन प्रतियोगिताको नाममा विभिन्न सार्वजनिक तथा संस्थागत विद्यालयमा पुगी रकम उठाउने कनेक्ट एजुकेशनलाई बेलबारी नगरपालिकाले अंकुश लगाएको छ ।

गत बुधवार कोशी प्रदेशमा कनेक्ट एजुकेसनको गैर कानुनी ठगी शीर्षकमा निरन्तर खबरमा समाचार प्रकाशन भएसँगै नगरपालिकाले प्रतियोगिताको नाममा हुने यस्तो गतिविधिमा सहभागी नहुन पालिका भित्रका विद्यालयहरूलाई अनुरोध गरेको छ । शुक्रवार एक सूचना सार्वजनिक गर्दै बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले रकम उठाउने संस्थालाई विद्यालय प्रवेशमै रोक लगाउन भनेका छन् ।

‘हालसम्म कुनै पनि संस्थालाई प्रतियोगिता गराउन अनुमति नदिइएको र पूर्व अनुमतिबिना कुनै पनि संस्थालाई विद्यालय प्रवेश नगराउनुहुन अनुरोध छ ।’ नगरपालिकाद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

यस अघि काठमाडौँको कोटेश्वरमा कार्यालय रहेको कनेक्ट एजुकेशन सेन्टरले हस्तलेखन प्रतियोगिता गराउने भन्दै कोशी प्रदेशका विभिन्न जिल्लामा पुगी विद्यालय र विद्यार्थीसँग सहभागिता शुल्क उठाउने गरेको खुलेको थियो । करिब २ वर्ष अघि दर्ता भएको उक्त संस्थाले विगत १५ वर्ष देखि शैक्षिक क्षेत्रमा काम गर्दै आएको दाबी सहित बिना अनुमति रकम उठाउँदै आएको थियो । कोशी प्रदेशको संरचनामै नभएको शिक्षा मन्त्रालयबाट अनुमति लिएर काम गरेको दाबी गर्ने उक्त संस्थाको अस्तित्व माथि नै प्रश्न उठेको छ ।