कल्याण एफ सीलाई पराजित गर्दै देविगन्ज एफ सी सेमिफाइनल प्रवेश

पथरी /  पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० अन्तर्गत बिहिवार भएको फुटबल खेलमा देविगन्ज एफ सी विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । देविगन्जले प्रस्तावित पथरी रंगशालामा भएको दोस्रो चरणको दोस्रो खेलमा कल्याण एफ सी लाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

देविगन्जका निरज परियारले खेलको २१ औं मिनेटमा पहिलो गोलको खाता खोलेका थिए । त्यसपछि खेलको २७ औं मिनेटमा सनम धिमालले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा निक्कै उत्कृष्ट खेल प्रदर्शन गर्दै कल्याण एफ सी का सुरज याक्खाले ३० औं मिनेटमा गोल गरे । अन्ततः निर्धारित समयमा अन्य गोल थप्न नसक्दा कल्याण एफ सी पराजित हुन पुग्यो । खेलको म्यान अफ द म्याच विजेता टिमका सन्जय लिम्बु घोषित भए । लिम्बुलाई वडा नं ८ का वडाध्यक्ष तथा नगर प्रवक्ता नविन कार्कीले नगद रु २ हजार र ट्रफी प्रदान गर्नुभएको थियो ।

पथरी शनिश्चरे नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको शुक्रबारको पहिलो सेमिफाइनल खेल सिरिजंगा एफ सी र युनिटी स्पोर्टस एफ सी बीच हुने आयोजकका सदस्य सचिव नविन खुलालले जानकारी दिनुभयो ।