येले संवत ५०८३ र चासोक तङ्नामको अवसरमा ४ दिने मेला लाग्ने

पथरी / लिम्बु समुदायको महान चार्ड चासोक तङ्नाम, उधौली पूजा तथा येले संवत् ५०८३का अवसरमा मोरङको पथरीशनिश्चरे १० स्थित सिरिजंङ्गा धार्मिक वन समूहको क्षेत्रमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिने भएको छ । मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले उक्त जानकारी गराएको हो ।

किरात याक्थुङ चुम्लुङ र सिरीजंगा धार्मिक वन उपभोक्ता समुहको संयुक्त आयोजनामा यही पुस ०७ गतेदेखि १० गतेसम्म भव्य र सभ्य कार्यक्रमहरू आयोजना सम्पन्न गर्न सम्पुर्ण तयारी पूरा भएको धार्मिक वन समूहका अध्यक्ष डम्बर चोङ्बाङले बताउनुभयो । उहाँका अनुसार यही पुस ०७ र ०८ गते सिरीजंगा स्मृति खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना गरिने भएको छ। यसका लागि १० वटा टिमले सहभागिता जनाउने भएका छन्। प्रतियोगितामा प्रथम र दोस्रो विजेता टिमलाई क्रमशः ६० हजार र ४० हजार रुपैयाँ नगद, ट्रफी,मेडल , प्रमाण पत्र प्रदान गरिने छ।

त्यस्तै, पुस ०९ गते धनुष, छेलो, लङ्जम्प, भाले जुधाईं,डोरी तान्ने, जस्ता लिम्बु समुदायका विभिन्न ऐतिहासिक खेलहरूको आयोजना गरिनेछ । भोलि पल्ट १० गते बिहान पूजाआजा ( प्रसाद वितरण र १०स्३० बजेदेखि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले प्रमुख आतिथिको तर्फबाट सो स्थानमा विभिन्न औपचारिक कार्यक्रमहरुको समुद्घाटन गर्नु हुँने जनाईएको छ । सोहि अवसरमा लिम्बु समुदायको ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रमहरु जस्तै केलाङ, येवा लाङ, यालाङ,हाक्पारे, ख्याली, पालाम, आदि हुने जानकारी दिईयो। सोहि साँझ भोईस अफ नेपाल सिजन ०४की प्रथम रनर अप सविता योङ्गहाङ, स्थानीय गायक नन्दु गुरुङ,पुष्प राई, लगायतका कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुतीहरू रहनेछन्।