विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पुर्याउने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणले सोमबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपदलगायतको क्षेत्रमा सहज र सुलभ सेवा प्रदानका लागि प्रदेशवासीलाई बीमाको पहुँचमा पुर्याउने बताएका हुन् ।
‘अहिले आगलागिका घटनाहरु नै धेरै भइरहेको अबस्थामा सरकारले राहत स्वरुप निर्देशिका अनुसार अधिकतम ५० हजार उपलब्ध गराउदै आएको छ,’ उनले भने, ‘तर त्यो प्रयाप्त छैन्, हामीले त्यसलाई बीमासग जोड्न सकियौं भने पिडितलाई थप राहत महसुश हुन्छ ।’ मुख्यमन्त्री कार्कीले बीमा पहुँच हुनेको भन्दा पनि नहुनेको घरसम्म पुर्याउनु पर्ने र सेवा प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका हुन् ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले बाख्रा र बंगुरको बीमामा भूक्तानीका लागि बीमा कम्पनीहरुले निकै झण्झटिलो अवस्था निर्माण गरेको प्राधिकरणको ध्यानाकर्षण गराए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रमेशकुमार सिंहले सडकलगायतका भौतिक संरचना निर्माणमा हालसम्म बीमामा गरेको लगानी बालुवामा पानी सावित भएको तर्फ प्राधिकरणको ध्यानाकर्षण गराएका थिए ।
नेपालको वित्तीय क्षेत्र सुधार रणनीति अन्तर्गत गाउँ गाउँ सम्म बीमाको पहुँच पुर्याउन तीन तहको नै सरकारसम्म पुग्ने प्रयास गरिरहेको बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । सिलवालले बीमा गरिएका बाख्रा र बंगुर मरेपछि किसानहरुले अत्यधिक मूल्य दावी गर्ने गरेकाले चुनौतिपूर्ण भएको स्विकारे । उनले सडक तथा भौतिक संरचना निर्माण क्षेत्रको बीमामा भएको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।
‘जीवन बीमाको पहुँचमा गत आर्थिक वर्षसम्ममा ४४.३८ प्रतिशत नेपाली मात्रै छन्,’ उनले भने, ‘विगत आर्थिक वर्षभन्दा गत वर्ष २.८७ प्रतिशतले वृधि भई बीमा शूल्क संकलन कूल १ खर्ब ८२ अर्ब ९१ करोड पगेको र कूल ग्राह्स्थ्य उत्पादनमा बीमाको योगदान ३.४० प्रतिशत रहेको छ ।’