पाँचथरको तुम्वेवा गाउँपालिकामा अध्यक्ष र कर्मचारीको रजाईँ, पालिकाको पैसाखर्च गरि जन्मोत्सव

देशका विभिन्न पालिकाका जनप्रतिनिधहरु जनताका सेवा सुविधाका लागि आफ्नो सेवा सुविधाबाट समेत जनतामै समर्पित गरिरहँदा पाँचथरको तुम्वेवा गाउँपालिकाका अध्यक्ष र केहि कर्मचारी भने आफ्नै हात जगन्नथा भनेजस्तै पालिकाको रकम दुरुपयोग गर्न लागेको खुलेको छ । उक्त पालिकाका अध्यक्षसहित कर्मचारीहरुले गाउँपालिकाकै रकम दुरुपयोग गरी जन्मोत्सव मनाएको खुलेको छ । गाउँपालिका अध्यक्ष बाबुराम खड्कासहित पालिकाका कर्मचारीहरुले गाउँपालिकाकै रकम खर्चगरि जन्मदिन मनाएको खुलेको हो । पालिका अध्यक्ष खड्काले जेठको २४ गते जन्मदिन मनाएको पालिकाले उपलब्ध गराएको सूचनामा उल्लेख छ ।

उक्त कार्य भएको सूचना थाहा पाएपछि सञ्चारकर्मी जङ्‌ग तामाङ्ले सूचनाको हक प्रयोग गर्दै सत्यतथ्य माग गर्नुभएको थियो । उक्त सूचनामा गाउँपालिकामा कार्यरत अन्य ६ जना कर्मचारीहरूको पनि जन्मोत्सव जनताबाट उठाइएको करले नै मनाएइएको खुलेको छ । जनताको करले जन्मदिन मनाउने कर्मचारीहरूमा रोजगार संयोजक नरेन्द्र खड्का, वडा नम्बर–२ का सचिव पर्शुराम लामिछाने, गाउँपालिकाको असिस्टेन्ट सब–इन्जिनियर जयप्रकाश लिम्बु, साना सिँचाइ कार्यक्रमका फोकल पर्सन समुद्र धामी, अपाङ्गता सहजकर्ता बन्दना खत्री र कार्यालय सहयोगी वीरेन्द्र खड्का रहेका छन् ।

यी कर्मचारीहरू र गाउँपालिका अध्यक्ष खड्का आफ्नै खर्चले जन्मदिन मनाउनै नसक्ने हैसियतका भने होइनन् । मनाउन सक्छन् । तर, उनीहरूले जन्मदिनको खर्च रु १५ सय समेत आफैँ बेहोर्न सकेनन । गाउँपालिकालाई बेहोर्न लगाए ।

रोजगार संयोजक खड्काले गत वैशाखको १२ गते जन्मदिन मनाएका हुन् । वडा नम्बर–२ का सचिव लामिछानेले गत वैशाखकै २६ गते, गाउँपालिकाको असिस्टेन्ट सब–इन्जिनियर लिम्बुले गत वर्षको चैत २६ गते, फोकल पर्सन धामीले गत जेठको २० गते, सहजकर्ता खत्रीले गत जेठको ७ गते र कार्यालय सहयोगी खड्काले गत वैशाखको २० गते जन्मदिन मनाएका थिए । गाउँपालिकाकी सूचना अधिकारी विनिता गौतमले गत जेठ २५ गते यता भने जन्मदिन मनाउने कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार यसरी जथाभावी करको दुरुपयोग गर्न पाइँदैन । तर, गाउँपालिका अध्यक्ष खड्का र कर्मचारीहरूले भने लुट्न सके लुट भनेजस्तै मौकामा चौका हान्न लागेको खुलेको हो ।




Leave a Reply

Your email address will not be published.