सरकार असफल भयो, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : कांग्रेस सांसद शर्मा (भिडियोसहित)

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सरकार असफल भएकाले अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित ‘निजी क्षेत्रको आवाज’ विषयक वृहत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले सरकारले जनहितमा काम गर्न नसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्सीमा बसिरहन उपयुक्त नहुने धारणा राखेका हुन् ।

अहिलेको राज्यसत्ता तस्करको संरक्षक बनेको दावी गर्दै सांसद शर्माले तस्करको संरक्षकले सत्तामा बस्न नसुहाउँने भएकाले नैतिक रुपमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताए । ‘तस्करको संरक्षक अहिलेको राज्यसत्ता हो, एक हो दुई हो तीन हो,’ ठोकुवा गर्दै सांसद शर्माले भने, ‘तस्करको संरक्षकको नाताले यीनीहरुले सत्तामा धेरैदिन बसिरहन सुहाउँदैन, नैतिक रुपमा प्रधानमन्त्री प्रचण्डसहित सबैले राजीनामा गर्नुपर्छ ।’ प्रधानमन्त्री दाहालले केही वर्षमा नेपालमा नर्सहरू पाउन गाह्रो पर्ने अवस्था रहेको अभिव्यक्ति दिएको विषयलाई लक्षित गर्दै सांसद शर्माले प्रधानमन्त्री दाहालकै कारणले देशमा नर्स नपाउँने अवस्था सृजना भएको आरोप लगाए । प्रचण्डले आफ्नै कार्यकर्तालाई चिकित्सा शिक्षा आयोगमा पठाएर ७८ वटा नर्सिङ कलेज बन्द गराएको भन्दै उनले जानाजान आफै काम बिगार्ने र आफै पछुताउने काम गर्नु लज्जास्पद भएको तर्क गरे ।

‘माओवादीको कार्यकर्ता श्रीकृष्ण गिरीलाई चिकित्सा शिक्षा आयोगमा पठाएर आफै दलको गिरीराजमणी पोखरेल शिक्षा मन्त्री भएका बेला नेपालमा चालु अवस्थामा रहेका ११७ वटा नर्सिङ कलेज मध्ये ७८ वटा कलेज बन्द गराउँने काम गर्नुभयो, नेपालमा उत्पादन भएका नर्सहरू नेपालमै अपुग हुने अवस्था सृजना भयो, सिमा क्षेत्र भारतीय भूमिमा १६७ वटा कलेज खोल्न लगाएर नेपालीहरूलाई नर्सिङ पढ्न विदेश जान बाध्य पार्नुभयो, अनि अहिले नर्स अभाव हुने अवस्था आयो भनेर नाटक गरेर हुन्छ,’ प्रधानमन्त्री प्रचण्डमाथि आक्रोश पोख्दै सांसद शर्माले भने, ‘नेपाललाई खोक्रो बनाएर युवाहरूलाई खाडीमा जान बाध्य बनाउने प्रचण्डलाई हामीले प्रधानमन्त्री मानिदिइराख्नुपर्ने, थपडी बजाइदिनुपर्ने, यस्तो हुदैन अब हामी बोल्नुपर्छ ।’

राजनीतिक नेतृत्वमा रहेकाहरु जिम्मेवार नबन्दा देशमा सबैतिर वेथिति मौलाएको र देश खोक्रो बन्दै गएको उदाहरण दिदैँ सांसद शर्माले अब नेतृत्वले जे गर्दा पनि टुलुटुलु हेरेर बस्न नहुने धारणा राखे । मेडिकल कलेज व्यवसायीसमेत रहेका सांसद शर्माले उद्योग वाणिज्य महासङ्घको नेतृत्व गर्नेहरू निजी क्षेत्रका समस्याका विषयमा नबोलेको गुनासो पनि गरे । उद्योगी व्यवसायीले अब व्यवसायीक फाइदा मात्र हेरेर नहुने भन्दै उनले देशलाई दुर्गतिबाट जोगाउँन अगुवाइ गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।