२० किलो चाँदीसहित विराटनगरका दुई जना युवा पक्राउ

विराटनगर / अवैध रूपमा २० किलो चाँदी लिएर काठमाडौँ हिँडेका दुईजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ५ का २५ वर्षीय रोहितकुमार यादव र विराटनगर बस्दै आएका ३७ वर्षीय शेचन मानन्धर रहेका छन् । उनीहरुलाई बिपी राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका ५ को सिन्धुली गढी प्रहरी चौकीले पक्राउ गरेको हो ।

उनीहरुले प्रयोग गरेको ०१–०२५ च १०६९ नं को निजी कार पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । कारको पछाडि सिटमुनि लुकाएर २० किलो चाँदी राखेको फेला परेको थियो । उक्त चाँदीको मूल्य २४ लाख ६१ बराबरको छ । नियन्त्रणमा लिइएको चाँदी र सवारी साधनलाई आन्तरिक राजश्व कार्यालयमा पठाइने प्रहरीले जनाएको छ ।