आफ्नै पार्टीको प्रशिक्षणको लागि पैसा शुल्क तिर्नु परेकोप्रति रास्वपा कार्यकर्ताहरुको असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले आफ्नै पार्टी सभापति रवि लामिछानेको प्रशिक्षण लिन शुल्क तिरेका छन् । रास्वपा कोशी प्रदेशले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उपस्थितिको लागि कार्यकर्ताले शुल्क तिरेको हुन् ।

यही साउन ५ र ६ गते आयोजन गरिएको प्रशिक्षण कार्यक्रममा उपस्थितिको लागि २ हजार ५ सय शुल्क तोकिएको थियो । सोहीअनुसार क्षितिज गौतमको नाममा रहेको एनएमबि बैंक विराटनगर शाखा कार्यालयको खाता नं ००८००५३३४३३०००१६ मा शुल्क भुक्तानी गर्न निर्देशन दिइएको थियो ।

कार्यकर्ताहरु सोहीअनुसार शुल्क तिरेर प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् । प्रशिक्षण कार्यक्रम इटहरीस्थित इम्पेरियल लन्चमा आयोजना गरिएको छ। सहभागीताको लागि आह्वान गरिएको पत्रमा प्रदेश इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश विभागिय पदाधिकारी, निर्वाचन क्षेत्र समिती पदाधिकारी तथा पालिका सभापति, उपसभापति र सचिवहरुलाई सम्बोधन गरिएको छ।

आफ्नै पार्टी सभापतिको प्रशिक्षणको लागि पैसा शुल्क तिर्नु परेकोप्रति कार्यकर्ताहरुले असन्तुष्टि पोखेको छन्।