झुटो र प्रायोजित समाचार/स्टाटस लेख्ने व्यक्ति समाज विरोधी तत्व हुन : अध्यक्ष गुरुङ

पथरी । सधैँ झुटो र प्रायोजित स्टाटस, समाचार लेख्ने व्यक्ति ‘समाज विरोधी तत्व’ भएको मोरङको पथरीशनिश्चरे—१, मा स्थापित शान्ति सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ ।
शान्ति सामुदायिक वन उपभोक्ता समूहबारे केही दिन अघि एउटा अनलाइन र केही व्यक्तिहरुले झुटो समाचार र स्टाटस लेखेको भन्दै प्रमाणित नहुने म्याटर बनाउने व्यक्तिलाई सो संज्ञा दिएको हो ।

संस्था विरुद्ध प्रायोजित रुपमा झुटो, काल्पनिक, भ्रमित स्टाटस र समाचार प्रकाशन गरेको भन्दै शनिवार पत्रकार सम्मेलनको आयोजना गरेर समितिले उक्त समाचारको खण्डन गरेको हो । प्रकाशित समाचार छेउटुप्पा नमिलेको, प्रतिशोधपूर्ण, झुटो रहेको र समान्य संस्थागत प्रकृयाको सामान्य जानकारी नभएको व्यक्तिले लेखेको शान्ति सावउसका कार्यबाहक अध्यक्ष हेमभक्त तमु गुरुङको भनाइ छ ।

भ्रामक, झुटो र प्रायोजित स्टाटस लेख्ने व्यक्ति समाजको विकास नचाहने ‘समाज विरोधी तत्व’ भएको विज्ञप्तिमा उल्लेख छ । ‘समाजमा जहिले नकारात्मक चर्चा, जुन बिषयलाई पनि नकारात्मक देख्ने, आफैमात्रै जान्ने हुँ भन्ने अहंकार र समाज विरोधी तत्वले आफ्नो अनुहार राम्रोसँग हेर्नु र बुझ्नु पर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ‘संसार फराकिलो छ । लेख्न, बोल्नै पर्दा सबैको हातमा प्रविधि र शिप हुन्छ । अरु नजानेरै नबोलेको भन्ने भ्रम आजैदेखि हटाउनु पर्दछ ।’

शान्ति सामुदायिक वनको चुनावी साधारण सभा हुन लाग्दा अध्यक्षको उमेद्वार एक कार्यकाल समितिमा बसेको हुनुपर्ने कि उपभोक्ता सबैको लागि खुल्ला गर्ने भन्ने बिषयमा छलफल चलिरहेको छ । समूहको कार्यबाहक अध्यक्ष हेमभक्त तमुको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन समिति गठन भएको छ । सो समितिले कार्यसमितिमा प्रस्ताव गर्ने र त्यहाँबाट पारित भएमा साधारण सभामा छलफल गरेर आम उपभोक्ताबाट निर्णय हुने संस्थागत प्रकृया हुन्छ ।

प्रकाशित समाचारमा पदाधिकारीहरुको नाम उल्लेख गर्दै संस्थामा मनोमानी गरेको, घोटाला गरेको, विधान आफू अनुकुल बनाएको भन्ने झुटो विवरण प्रस्तुत गरेको भन्दै शान्ति सावउसले के बिषयमा मनोमानी भयो ? घोटाला कति, कस्ले र कसरी भयो ? विधान दुई जनाले पारित गर्ने बिषय हो ? भनेर विज्ञप्ति मार्फत प्रस्न गरिएको छ । विज्ञप्तिमा यस्ता समाचार÷स्टाटस लेख्ने व्यक्तिको व्यवसायिक दक्षता माथि समाजमा प्रस्न उठ्ने गरेको उल्लेख छ ।

शान्तिले प्रकाशित समाचार तथ्य, प्रमाण अगाडि राखेर दोहो¥याएर पढ्न र पुष्टि गर्न चुनौती दिएको छ । हचुवाको भरमा लेखिएको समाचारमा पदाधिकारीको नामसम्म नमिलेको उल्लेख छ । समाचार/ स्टाटस लेख्ने व्यक्तिलाई कसैले प्रायोजन गर्दैमा आइन्दा प्रमाणित नहुने बिषय नलेख्न सुझाव दिएका छन् ।

कार्यबाहक अध्यक्ष हेमभक्त तमु, सहसचिव रोमान्सी धिमाल, कोषाध्यक्ष कुलमणी गुरुङ, सदस्य पूर्ण पाख्रिन लगायत पदाधिकारी सदस्यहरु उपस्थित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराई, प्रेस चौतारी मोरङका उपाध्यक्ष शन्तोष राई, किरात राई पत्रकार संघका जिल्ला अध्यक्ष बिजय खम्बू, प्रेस युनियन, प्रेस सेन्टर, प्रेस मञ्च नेपाल, समाजवादी प्रेस संगठनमा आवद्ध पत्रकारहरुको उपस्थिति थियो ।