सुन्दरपुर साना किसान सहकारीमा चोरी, सिसिटिभीको ‘हार्डडिक्स’ गायब

सुन्दरहरैचा । सुन्दरहरैचा स्थित साना किसान कृषी सहकारी संस्थामा चोरीको प्रयास भएको छ । सुन्दरहरैचा नगरपालिका वडा नं ६ मा संचालन हुदै आएको सुन्दरपुर साना किसान कृषी सहकारी संस्था लिमिटेडमा गए राती चोरीको प्रयास भएको हो । आइतबार राती संस्थाको ताला फुटाउदै चोरले संस्थाबाट सिसिटिभिको हार्डडिक्स चोरेको हो । संस्थाको दैनिक कारोबारको रकम लकरमा राखिएको र चोरले उक्त लकर फुटाउन नसक्दा ठुलो रकम चोरी हुनबाट भने जोगिएको छ ।

कार्यालयको भवनको  सभा हलको झ्याल फोडेर  कारोबार रहेको दोस्रो तलाको ढोकाको ताल्चा काटेर भित्र प्रवेश गरेको चोरले कार्यालयमा रकम नभेटेपछि सिसिटिभिको भिडियो स्टोरेज हुने हार्डडिस्कनै चोरेर लगेको हो । संस्थाका अध्यक्ष भिम पौडेलले लकरबाट रकम निकाल्न नसकेपछी सिसिटिभिको हार्डडिस्क चोरी भएको जानकारी दिए । “नगद चोरी हुनबाट जोगियो, हार्डडिक्स चोरी भएको छ । तर संस्थामा चोरीको प्रयास हुनु निकै दुःखद् विषय हो ।” पौडेलले भने ।

सिसिटिभी क्यामराको भिडियो रेकर्ड हुने हार्डडिक्सनै चोरेर लगेका कारण घटनामा संलग्न व्यक्तिको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक (ईन्स्पेक्टर) उदय शमसेर जबराले बताए । सिसिटिभिको हार्डडिस्क नै हराएपछी प्रहरीले अन्य विभिन्न तरिकाबाट अनुसन्धान थालेको जवराले बताए ।

सहकारीमा चोरीको घटनालाई लिएर अहिले स्थानियवासी तथा शेयर सदस्यहरु चिन्तित बनेका छन । सहकारी भित्र उक्त दिन आइतबार मात्र २० लाख बराबरको रकम लकरमा राखिएको थियो । नाम नखुलाउने सर्तमा एक शेयर सदस्यले भने “लकरमा रकम राखिएको सुचना कतैबाट बाहिर पुगेको हुन सक्छ । नत्र त्यही दिन चोरी हुनु र झ्यालबाट चोर छिर्नु नै शंकास्पद रहेको छ ।” उनले प्रहरीले सुक्ष्म ढंगबाट अनुसन्धान गर्नुपर्ने बताए ।