पथरीशनिश्चरे नगरको समग्र बिकास स्थिति

प्रेमप्रसाद भट्टराई (के.डि)

पथरी / मोरङ जिल्लाका १७ वटा पालिकाहरुमध्ये एक हो पथरीशनिश्चरे नगरपालिका । प्रदेश नं १ को राजधानि विराटनगरबाट करिब ५० किलोमिटर पुर्वको दुरिमा रहेको यो नगरपालिकालाई साविक पथरी, शनिश्चरे र हसन्दह गा।वि।स लाई जोडेर बनाइएको हो । वि सं २०७१ सालमा साविक पथरी र शनिश्चरे गाविस जोडेर सरकारले यस पालिकालाई नगरपालिका घोषणा गरेपनि केहि मापदण्ड नपुगेपछि वि।सं २०७३ सालमा पथरीशनिश्चरे नगरपालिका घोषणा गरिएको थियो ।

५३.७ बर्गकिलोमिटरमा फैलीएको यस नगरको पूर्वमा उर्लावारी उत्तरमा लेटाङ, दक्षीणमा सुनवर्षि नगरपालिका र पश्चिममा कानेपोखरी गाउँपालिकाले घेरेको छ । नगरको मुख्य बजारका रुपमा लिइएको पथरी बजार क्षेत्रमा केही सानो देखिएपनि यहाँको जनसंख्या ७२ हजार ६ सय ८९ (नया तथ्याङ्क अनुसार) रहेको छ । झापाको काकडभिट्टादेखी कन्चनपुरको महेन्द्रनगरसम्म फैलीको १०२७.६७ किलोमिटर दुरि रहेको महेन्द्र राजमार्गले छोएको यो नगरमा उक्त राजमार्गमध्ये करिब ५ किलोमिटर क्षेत्र नगरमा पर्दछ ।

स्थानिय तहको दोश्रो निर्वाचनपश्चात यस नगरका जनप्रतिनिधिको इमान्दारीता र यहाँका सामाजिक तथा राजनैतिक ब्यक्तिहरुको सहयोगले थप विकासोन्मुख गतिमा अगि बढ्दो छ । नगरको अधिकांश जमिन कृषियोग्य रहेकोले यो नगरले कृषिमा बलियो सम्भावना बोकेको छ । आन्तरिक आयश्रोत कम भएपनि जिल्लाकै नमुना पालिका बनाउनका लागि स्थानिय सरकारका जनप्रतिनिधिहरुले गरेको पहल प्रशंसायोग्य छ । नगरबासिको मुख्य पेशा कृषि नै हो भने अन्य ब्यापार व्यवसाय पेशा अंगाल्नेहरुको संख्या पनि उल्लेख्य रहेको छ । नगरमा रहेको बन क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने मुख्य थलो रहेको छ । नगरका बन समितिहरुले पर्यटक भित्र्याउनका लागि अहिले विभिन्न योजनाहरु समेत अघि सारेका छन भने केहीले पर्यटकको संख्या समेत बढाउन थालिसकेको छ । वडा नं १० को मनकामना सामुदायीक बन, श्रीजंगा धार्मिक बन तथा वडा नं १ को शान्ति सामुदायीक बन यसको उदाहरण हुन जसले अहिले पनि यहाँ पर्यटकको संख्या बृद्धि गरिरहेको छ जसकारण नगरमा केही आयास्रोतको थलो समेत बनेको छ ।

१० वटा वडा रहेको नगरमा अहिले वडा वडामा बैंक, सहकारी तथा वित्तिय संस्थाहरुले सेवा केन्द्र खोली सेवा दिने क्रम बढ्दो छ । जसबाट ब्यापार व्यवसाय तथा अन्य पेशा अंगाल्नेहरुका लागि लाभ पुगेको छ । वडाका १० वटै वडामा निजि तथा सरकारी विद्यालयहरु संचालित छन् । यस नगरमा रहेका २ वटा ठुला खोला बक्राहा र डाँस खोलाले बर्षायाममा ठुलो जनधनको क्षती गर्ने गरेको बिगत छ । हाल यसलाई पूर्ण रुपमा नियन्त्रण गर्ननसकेपनि तुलनात्मक रुपमा अधिकांश जोखिमयुक्त क्षेत्रमा तटबन्धन गरिएको छ जसकारण खेतीयोग्य जमिन र मानव बसोबास क्षेत्रको जोखिम कम भएको छ ।

वडा नं १० को जिरिखिम्ती क्षेत्रमा रहेका २ वटा खोलामध्ये मोरङ्गी खोलामा त्यहाँका किसानहरुले लगाउनेगरेको सिमेसागले कृषकको जिवनस्तर उकासिने क्रममा छ । यस खेतीलाई थप प्रोत्साहन गरि नगरले स्थानिय कृषकको जिवनस्तर उकास्न सक्छ । नगरमा ठुला उद्योग धेरै नभएपनि स्थानिय सरकारको प्रोत्साहनले उद्योगधन्दा खोलीनेक्रम बढेको छ । हालै सम्पन्न नगरसभाले कृषि तथा पशुपन्छी पालनलाई पनि प्रोत्साहन गरेको छ । नगरले घर विहिन विपन्न नागरिकलाई घर निर्माण गरिदिने समेत निर्णय गरेको छ भने बैदेशिक रोजगारिबाट फर्किएर नेपालमै कृषिमा उद्यम गर्न चाहनेहरुका लागि पनि विशेष योजना अघि सारेको छ । जसबाट नगरमा आयको स्रोत थपिन्छ भने बेरोजगारी समस्य। न्यूनिकरणमा समेत राहत पुग्ने लक्ष राखेको छ ।

नगरले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्दै नगरलाई देशभर चिनाउने राष्ट्रिय खेलाडिलाई सम्मान गरेको छ । जसकारण खेलकुदमा लाग्ने युवाहरुलाई थप हौसला मिलेको छ । वडा नं २ मा रहेको सेल्फीरोडले एकताका नगरमा उल्लेख्य पर्यटक भित्र्याएको थियो । नगरको धेरै भाग जंलगलले ओगटेको हुनाले यस क्षेत्रमा पशुपालन तथा फार्महरु खुल्ने संख्या बढ्दो छ । भाषा तथा संस्कृति संरक्षण गर्ने हेतुले हाल वडा नं ७ मा रहेको चन्द्रकिरातेश्वर मा।बि र वडा नं ४ मा रहेको भागिरथ माविमा लिम्बुभाषा र वडा नं १ को सुनाखरी माविमा राई समुदायभित्रको चाम्लीङ भाषाको पढाई हुन थालेको छ । समग्रमा भन्ने हो भने पथरीशनिश्चरे नगरपालिका समग्र रुपले अगि बढ्ने गतिमा छ । तर सम्भावना बोके पनि नगरको विकासका लागि स्थानिय तहको प्रयासले मात्र सम्भव हुन्न । यहाँका राजनैतिक दल, सामाजिक संस्था, व्यवसायीक संस्था र तिनका नेतृत्वका साथै नागरिकले पनि उत्तिकै साथ र सहयोग गर्नुभने यो नगरले अझ बढि बिकासको तिब्र गतिमा फड्को मार्न सक्थ्यो कि ?