सि एम कन्दङ्वा स्मृति कोषद्वारा पत्रकार जम्नेलीसहित तीन जना सम्मानित

मोरङ / मोरङको पथरीशनिश्चरे—१ मा स्थापित सि एम कन्दङ्वा स्मृति कोषले ३ जनालाई सम्मान गरेको छ । कोषले नेपाली भाषा, साहित्य संगीत र पत्रकारिता क्षेत्रमा कार्यरत तीन जनालाई नगदसहित सम्मान गरेको हो । पथरीशनिश्चरे—१ स्थित एभरेष्ट अंग्रेजी आवासीय माविद्वारा सञ्चालित कोषले बुधबार राष्ट्रिय प्रतिभा सम्मान कार्यक्रमको आयोजना गरी ताम्रापत्र र नगदका साथै दोषल्ला ओढाएर सम्मान गरेको हो ।

नेपाली साहित्यकार प्रा डा गोविन्दराज भट्टराईलाई नगद एक लाख एक हजारसहित ‘सि।एम।कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान—२०७९’ले सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको हातबाट उक्त सम्मान प्रदान गरिएको थियो । दार्जीलिङ भारतमा जम्निएर नेपालमा सांगीतिक क्षेत्रमा लाग्दै आएका अनिल फागो लिम्बू ५१ हजार नगदसहित ‘सि एम कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मान—२०७९’बाट सम्मानित भएका छन् । त्यसैगरी मोरङको पथरीशनिश्चरेका पत्रकार अर्जुन जम्नेली राईलाई ११ हजारसहित ‘सुशिला कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९’द्धारा सम्मान गरिएको थियो ।

सम्मानित ब्यक्तिहरुलाई सि एम कन्दङ्वा स्मृति कोष सञ्चालक समितिका अध्यक्ष डा रामनारायण कन्दङ्वा, उपाध्यक्ष रबिन कन्दङ्वा, संरक्षक दिनेश कन्दङ्वा, पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, समालोचक दधीराज सुवेदी लगायतबाट दोसल्ला, सम्मानपत्र र नगद प्रदान गरिएको थियो ।

झापा दमक १ स्थायी बसोबास भएका सम्मानित गोविन्दराज भट्टराईका ६५ भन्दा बढी कृतिहरु प्रकाशित भएका छन् । संगीत विधामा सम्मानित अनिल फागो लामो समयदेखि झापा र मोरङका बिभिन्न विद्यालयहरुमा संगीत विद्या सिकाउदै आएका छन् । भारत हैदरावाद विश्वविद्यालयबाट संगीतमा पोष्ट ग्रयाजुएट गरेका फागोले विभिन्न गीतहरुमा संगीत दिएका छन् भने सुशिला कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९ बाट सम्मानित पत्रकार अर्जुन जम्नेली राई दुई दशक अघिदेखि पत्रकारिता क्षेत्र मार्फत समाजिक, राजनीतिक बिकृति, विसंगति विरुद्ध कलम चलाउदै आएका छन् । गोरखापत्र दैनिक लगायतका सञ्चार माध्यममा काम गरिसकेका राई हाल रातोकलम डटकमका प्रधान सम्पादकका रुपमा कार्यरत छन् ।

एम ए सम्म अध्ययन गरेका राई हाल पथरीशनिश्चरे—१ स्थित पञ्चायत माविको कक्षा ११ र १२ मा पत्रकारिता बिषय पढाउदै आएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुलपति भुपाल राईले सीएम कन्दङ्वा पूर्बको राजनीति विचारक, साहित्य र शैक्षिक अभियान्ता भएको बताए । सम्मानित व्यक्तिहरुलाई बधाई शुभकामना दिदै समालोचक दधीराज सुबेदीले सि एम कन्दङ्वा स्मृति कोषले पूर्बको प्रज्ञा प्रतिष्ठान जतिकै काम गरेको बताए । प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सुमित्रा बाङ्देल चेली, ललितकला प्राज्ञ प्रतिष्ठानको सभा सदस्य सरोजा खड्गी लगयातको उपस्तिथि रहेको कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, कोषको सल्लाहकार युवराज बास्कोटा लगायतले बधाई शुभकामना दिएका थिए ।

को हुन सीएम कन्दङ्वा ?

चन्द्रमान कन्दङ्वा (सी एम) प्रजातान्त्रिक आन्दोलनको सेनानी तथा पूर्बी नेपालको शिक्षाको अभियान्ता थिए । वि स १९८१ चैत्र २९ गते जन्मिएका कन्दङ्वाले २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलनमा राणा र पञ्चायत विरुद्धको आन्दोलनमा सक्रीय सहभागि भएका थिए । कन्दङ्वा प्रजातन्त्रका सेनानी हुन् ।

वामपन्थि राजनीति गरेका कन्दङ्वा २०४३ सालमा पथरीमा एभरेष्ट अंग्रेजी आवासीय माविको स्थापना गरेर शिक्षा क्षेत्रमा लागेका थिए । कन्दङ्वाको राल्फा बस्ति, विद्रोह कथा संह्रह, अनि धर्तिबोल्दछ, फाइताका छापहरु लगायतका उपन्यास प्रकाशित छन् । कन्दङ्वाको २०६२ मा देहान्त भएपछि एभरेष्ट स्कुलले सि एम कन्दङ्वा स्मृति कोष स्थापना गरी साहित्य, भाषा, संस्कृति, कला र पत्रकारिता क्षेत्रको बिकास गर्ने उदेश्यले बार्षिक तीन जनालाई सम्मान गर्दै आएको छ ।

यस अघि लोक गायक लक्ष्मी जोसी र साहित्यकार धनकुटे कान्छालाई सम्मान गरेको थियो । कार्यक्रम चन्द्रमान कन्दङ्वा (सीएम) को जन्म दिनको अवसरमा चैत्र २९ गते हुने गरेको छ ।