प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ता सुरु

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच निर्णायक वार्ता सुरु भएको छ । आज बिहान चार दलबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएपछि अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

एमालेले मङ्सिर १० गते सहमति अनुसार आफ्नो पार्टीले नै राष्ट्रपति पाउनुपर्ने भनिरहेको छ भने माओवादीले सहमतिका आधारमा राष्ट्रपति हुनुपर्ने भनिरहेको छ । यही कारण दुई दलबीच दुरी बढेको हो । शुक्रबार बिहानमात्रै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको छ । यो सँगै पुस १० मा भने सात दलीय गठबन्धनको भविष्य संकटमा परेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धन बनेको थियो ।