संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका इलामका आचार्यको निधन

काठमाडौं / मंगलबार दिउँसो संघीय संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको बुधबार बिहान ५ बजे निधन भएको डा किरण नकर्मीले जानकारी दिनुभयो । डा नकर्मीले भन्नुभयो, ‘‘उहाँलाई बचाउन सकिएन । उहाँको ८० प्रतिशत भाग जलेको थियो । उपचारको क्रममा आज बिहान मृत्यु भयो ।’’

नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो सल्काएर आचार्यले आत्मदाहको प्रयास गरेका थिए । शरिरमा आफै आगो लगाएका आचार्यलाई उपचारको लागि मंगलबार नै बर्न अस्पताल लगिएको थियो । आचार्यको स्वास्थ अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री डा। तोषिमा कार्की समेत मंगलबार कीर्तिपुर अस्पतालमा पुग्नुभएको थियो ।